दाङ : दाङमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ ।
यस्तै घाईते हुनेमा तुलसीपुर ९ दोघरेका २५ वर्षीय सन्तोष वली रहेको प्रहरीले जनाएको छ । उनको राप्ती पोलिक्लिनिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब ११ बजे तुलसीपुर ३ दमार गाउँस्थित डाँडाखुटीदेखि बेलुवातर्फ जाँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा भण्डारी र ओली घाईते भएका थिए ।
घाइते दुबै जनालाई उपचारको लागि अस्पताल लगिएको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भण्डारीलाई थप उपचारको लागि दिउँसो १२ बजे मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको थियो । उनको उपचारको क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार अटो चालक तुलसीपुर ३ का २३ वर्षीय प्रेम घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै तुलसीपुरमा घरको छतबाट खसेर किशोरी घाइते भएकी छिन् । मंगलबार दिउँसो ३ बजेतिर तुलसीपुर ७ गैरापातुमा स्थित कुशल बिकको घरमा डेरा गरी बस्ने १८ वर्षीया ललिता नेपाली चक्कर लागेर १ तला माथिबाट खस्दा घाइते भएकी हुन् । उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।