‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ आह्वान

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १२ गते शुक्रवार

काठमाडौँ :  वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को दोस्रो संस्करणका लागि भिडियो आह्वान गरेको छ । फाउण्डेसनले ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार देखि ७० दिन अर्थात् २०८० वैशाख २१ गतेसम्मका लागि भिडियो पठाउन आह्वान गरेको हो । विजेता प्रतियोगीहरूको घोषणा १३ ज्येष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।

सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक रूपमा १३२ वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुन पुग्यो । यसअघि सन् २०२० को भिडियो च्यालेन्जमा सहभागी प्रतियोगीहरूले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्नेछन् । ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीहरूले समेत सहभागिता जनाउन सक्ने फाउण्डेसनले जनाएको छ ।

भिडियो निर्माताहरूले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि गाउँठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचान लगायतका विषयहरूलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन् । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरू मध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ ।

कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको छ । यस प्रतियोगिताले देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरू पहिल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने र प्राप्त वृत्तचित्रहरूको उचित प्रचारप्रसार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ठूलो सहयोगी हुन सक्नेमा फाउण्डेसन विश्वस्त छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार