दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सूचना तथा सञ्चार प्रतिष्ठानको कार्यालय राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा स्थानान्तरण गर्न निर्देशन दिएका छन् । प्रतिष्ठानको परिषद् बैठकमा उनले यथाशक्य कार्यालय सार्न निर्देशन दिएका हुन् । सरकार र प्रतिष्ठानका बीचमा आपसी सहयोगको आवश्यकता रहेको भन्दै उनले प्रतिष्ठान र प्रदेश सरकारको नजिक हुनु पर्ने बताए । उनले सरकारका कामकारबाहीसँग प्रतिष्ठान जोडिनु पर्ने भन्दै सो कुरालाई आत्मसात गर्दै रूपन्देहीमा रहेको कार्यालयलाई छिटोभन्दा छिटो राजधानी स्थल राप्ती उपत्यकामा स्थानान्तरण हुनु पर्ने समेत बताए ।
उनले लुम्बिनीलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने सरकारको तयारी रहेको भन्दै उक्त तयारीमा जुट्न पनि प्रतिष्ठानलाई निर्देशन दिए । उनले सरकारले विकाससँगै सुशासनलाई जोडेर लैजाने योजना बनाएको भन्दै प्रदेशलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने सरकारको योजना रहेको पनि बताए । उनले सरकारको योजनालाई सार्थक तुल्याउन सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको भूमिका महत्वपूर्ण र यसतर्फ प्रतिष्ठानले योजना बनाउनु पर्ने पनि बताए । बैठकमा प्रतिष्ठानका सिइओ अनुप बाँस्कोटाले २ करोड ५० लाखको बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए ।
१ करोड ४४ लाखको नियमित बजेट र १ करोड ६ लाखको कार्यालय सञ्चालन खर्चको बजेटलाई बैठकले अनुमोदन गरेको थियो । बजेट प्रस्तुत गर्दै उनले पूर्ववर्ती सरकारका कारण बजेट परिचालन गर्न नपाएको र विगत आठ महिनादेखि कर्मचारीले तलब सुविधा नपाएको बताए । उनले मुलुकमै पहिलोपल्ट लुम्बिनी प्रदेशमा एकीकृत वेबसाइट सञ्चालनमा ल्याएको भन्दै आफ्नै डिएनएस सिस्टम लागू गरेको समेत बताए ।
प्रतिष्ठानले प्रदेशको डिजिटल प्रणालीको गुरुयोजना तयार पारेको भन्दै उनले बजेट अभावका कारण योजना अगाडि बढाउन नसकेको बताए । ‘प्रतिष्ठानले ‘प्रदेशको डिजिटल प्रणालीको गुरुयोजना बनाएको छ । यसलाई लागू गर्नका लागि बजेट अभाव छ । हामीले प्रदेशका डिजिटल सामग्रीलाई सुरक्षित राख्ने सिस्टमका विकास गरेका छौं । संघीय सरकारका सूचना प्रणाली ह्याक हुँदा हाम्रो प्रदेशका कुनै पनि डिजिटल सामग्री ह्याक हुँदैन् ,‘ उनले भने