तुलसीपुर ९ मा १२ हजार बढिलाई हात्तीपाइले विरुद्ध औषधि खुवाउने लक्ष्य

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन ८ गते सोमवार

दाङ :  दाङमा यही फागुन ११ गतेदेखि १३ औँ चरणमा हात्तीपाइले विरुद्ध औषधि खुवाइने अभियान शुरु हुने भएको छ  । जिल्लामा १२ औँ पटक खुवाउँदा पनि लक्ष्य हासिल गर्न नसकेपछि फेरि खुवाउन थालिएको हो ।
यस्तै अभियानलाई स्वास्थ्य संस्थाहरूले अभिमुखीकरण गर्दै आएका छन् । सोमबार तुलसीपुर ९ दोघरेमा रहेको नगर स्वास्थ्य केन्द्र दोघरेले पनि समुदाय स्तरीय बहुनिकाय अभिभुखिकरण गोष्ठीको आयोजना गरेको थियो ।  वडाका जनप्रतिनिधि,  सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा भएको कार्यक्रममा बोल्दै नगर स्वास्थ्य केन्द्र दोघरेका प्रमुख ईश्वरी प्रसाद चालिसेले वडामा १२ हजार ७३ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको बताए । 

उनले यस अभियानमा साथ र सहयोग दिन पनि सबैलाई आग्रह गरे । उनका अनुसार सुरुमा सरकार कम्तिमा ५÷६ वर्षसम्म लगातार औषधि खुवाएपछि खुवाउनु पर्दैन्, भनेर ल्याएको भएयता पनि आम नागरिकले जुन रुपमा खानु पर्ने थियो, त्यो नखाँदा जिल्लामा १३ औ चरणमा पनि औषधि खुवाउन लागिएको हो । उनले भने,‘ शुरुमा औषधि खुवाउँदा मानिसहरूमा हात्तीपाइले रोगको परजीवी हुँदा असर देखिएको थियो । त्यसपछिका अभियानहरू पूर्णरुपमा सफल भएनन् । जसले गर्दा हाम्रो जिल्ला असफल भएको हो । हालसम्म देशभर ६३ जिल्ला सफल भएका छन् ।’ यस्तै उनले लुम्बिनी प्रदेशका दाङसहित बाँके र कपिलवस्तुमा यो अभियान शुरु हुन लागेको पनि बताए । दाङमा ६ महिना अगाडि गरिएको सर्वेक्षणमा अहिले पनि ५ प्रतिशत नागरिकहरूमा हात्तीपाइले रोगको परजीवी भएको तथ्यांकमा देखाएको उनको भनाइ थियो ।

उनका अनुसार जबसम्म परजीवीको दर २ प्रतिशतमा झर्दैन, तबसम्म यो रोगको विरुद्धमा औषधि खुवाइ रहनु पर्ने हुन्छ । उनले गत वर्ष अभियान चलेको भएयता पनि जुन लक्ष्य लिइएको थियो, त्यो पुरा नभएको पनि उल्लेख गरे । उनले भने,‘ जिल्लामा ७८ प्रतिशत मात्र औषधि खुवाइएको थियो । जसले गर्दा हामीले लक्ष्य पुरा गर्न सकेका थिएनौँ । लक्ष्य कम हुने बित्तिकै औषधि खाने मानिसहरू छुटे । छुट्ने बित्तिकै संक्रमण दर बढ्ने सम्भावना बढि  हुन्छ ।’ यस्तै जिल्लामा १३ औँ चरणमा अभियान शुरु हुन लाग्दा पनि अझै केही मानिसहरूमा चेतनाको कमी रहेको पनि उनले बताए । यस्तै उनले तुलसीपुर ९ मा गत वर्ष करिब ६ जनसंख्या रहेकोमा अहिले १४ हजार पुगेको भन्दै बसाइसराइ गरेर आउँदा पनि औषधि खान छुटेको हुनसक्ने बताए ।

 यस्तै विगतका केही वर्षदेखि चाहिने औषधि खानु पर्छ, भन्ने मानिसहरूमा चेतना जागेको पनि उनको भनाइ छ । उनले जुन ब्यक्तिहरू शिक्षित रहेका छन्, उनीहरुले  औषधि खान मान्दैन् । जो अशिक्षित रहेको छ । उनीहरु इमान्दारिता पूर्वकऔषधि खाने गरेको पाइन्छ ।    गत वर्ष ४८ सयको लक्ष्य रहेकोमा ६ हजार २ सय जनाले औषधि खाएको पनि उनले बताए ।  यस्तै उनले आफूहरुलाई लक्ष्य प्राप्तको लागि चुनौतिहरु रहेको पनि बताए । अटोभिलेज एरिया, पातुखोला पुल चोक एरिया र माथि शिव मन्दिर साइड तिरको एरियामा  विगतमा पनि औषधि खान नमान्ने गरेको हुँदा त्यसमा चुनौति रहेको बताए ।   वडा नं. ९ मा पहिलो चरणमा ५ स्थानमा खुवाइने र त्यसका लागि तयारी भइरहेको पनि उनको भनाइ थियो । उनका अनुसार नगर स्वास्थ्य केन्द्र भवन, बेलुवा प्रहरी चौकी, बेलुवा शिव मन्दिर, बेलुवाको सगरमाथा स्कुल चोक र सल्लीवन रहेको छ । ५ वटा केन्द्रबाट खुवाइने र त्यसमा ५ जना स्वास्थ्यकर्मी र वडाका ५ जना जनपूतिनिधिहरुको सहभागिता समेत रहने उनले बताए ।

यस्तै उनले औषधि चाहि प्रत्येक्ष स्वास्थ्यकर्मीको निगरानीमा खुवाइने पनि बताए । उनले भने,‘ विगतका वर्षहरुमा औषधि खाने आउने र अहिले खाँदैन् । साँझ वा विहान खान्छु । भनेर लैजाने गर्दा यता डाटामा खाएको देखिने भएयता पनि उनीहरुले खाएको वा नखाएको केही थाहाँ हुँदैन्थ्यो । जसले यो अभियान असफल हुनुका कारण पनि यही हो । यस पटक हाम्रो प्रत्येक्ष निगरानीमा खुवाइन्छ । यदि कसैले  म साँझ खान्छु वा विहान खान्छु भनेमा हामी घर मै गएर खुवाउँछौँ ।’गत वर्ष औषधि खुवाउँदा वडाका खासै कसैलाई असर नगरेको भन्दै यो औषधि खाएको दिनदेखि करिब ४ महिनासम्म मात्र काम गर्ने भएकाले १२ पटक सम्म खाएका ब्यक्तिहरू पनि अनिर्वाय रुपमा औषधि खानु पर्ने उनको भनाइ थियो । यस्तै कसैलाई औषधि खादाँ कुनै समस्या भएमा त्यसको लागि राप्ती प्रादेशिक  अस्पताल तुलसीपुर र मेट्रो असपताल अश्वारामा उपचारको व्यवस्था गरिएको पनि उनले बताए ।

यस्तै कार्यक्रममा बोल्दै वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले यो राष्ट्रिय अभियानलाई सफल पार्न सबैलाई आग्रह गरे । उनले जनप्रतिनिधिका रुपमा आइसकेपनि त्यही भूमिका आफूहरुले निभाउनु पर्ने भन्दै यो अभियानलाई सफल बनाउन एकतावद्ध भएर लाग्न पनि आग्रह गरे । यस्तै उनले मंगलबारदेखि नै टोलका अध्यक्ष मार्फत यसको बारेमा जनचेतना दिन आफूहरु लाग्ने पनि बताए । उनले विद्यालयलाई पनि  यस अभियानलाई प्रभावकारी बनाउनको लागि सहयोग गर्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार