दाङ : दाङमा विद्युत हुकिङ गरि चोरी गर्ने ९ जना पक्राउ परेका छन् । राजपुर गाउँपालिका ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न स्थानबाट रात्रिकालीन अनुगमनको क्रममा ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर ३ भैंसवाका जमुना प्रसाद यादव रहेको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । यस्तै राजपुर गाउँपालिका ५ चंगवाका सञ्चित कुमार यादव, शिवकुमार यादव, तहलु यादव, फिरोज अली, बैधु अली र गढवा गाउँपालिकाको ४ रामनगरका दीपक यादव रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, सशस्त्र प्रहरी बल अर्जुन खोला र इलाका प्रहरी कार्यालय गढवाको टोलीले उनिनुलाई विद्युत हुकिङ गरि चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रमुख लामिछानेले बताए । उनका अनुसार उनीहरूले १ लाख २ हजार भन्दा बढि रकम तिर्न बाँकी रहेको छ । त्यस मध्यमा ४ जनाले ४० हजार बढि जरिवाना सहितको बक्यौता रकम बुझाएपछि छाडिएको छ भने अन्य ५ जनाको बारेमा छानबिन भइरहेको उनले बताए । प्राधिकरणले लाइन काटिएपछि महशुल बुझाउन अटेर गरी चोरी गरि बाल्नेलाई विद्युत चुहावट ऐन अन्तरगत कारबाही गर्ने जनाएको छ । कार्यालय प्रमुख लामिछानेले यस्ता चोरीका काम नगर्न सबैलाई आग्रह गरे ।