तुलसीपुरमा आजसम्म एक लाख १६ हजार बढिले हात्ती पाइले रोग विरुद्धको औषधि खाए

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १५ गते सोमवार

दाङ :   तुलसीपुरमा सोमबारसम्म एक लाख १६ हजार बढिलाई हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइएको छ ।  फागुन ११ गतेदेखि शुरु भएको औषधि खुवाउने अभियान अन्तर्गत पाचौँ दिन १६ हजार ४७३ जनालाई औषधि खुवाइएको उपमहानगरका जनस्वास्थ्य  प्रबर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।  उनका अनुसार योसँग हालसम्म  एक लाख हजार १६ हजार ४०३ जना अर्थात ६३.१ प्रतिशत नागरिकले औषधि खाएका छन् ।  उपमहानगरका एक लाख ८४ हजार ५३१ जनसंख्या मध्य ८० प्रतिशत अर्थात एक लाख ६५ हजार जनालाई यो औषधि खुवाउने लक्ष्य लिएको उनले जानकारी दिए । 

 उनका अनुसार सोमबार ८०  वर्षीय सामाजिक अभियन्ताले पनि  हात्तीपाइले रोग विरुद्धको औषधि खाएका छन् । उनले भने,‘ जुन वडामा ८० प्रतिशत कभरेज हुँदैन ।  त्यो वडामा जनप्रतिनिधि लगायत सामाजिक अभियन्ता, सरोकारवाला, नगरवासीलाई आम औषधि  सेवन कार्यक्रममा सहभागि भै कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरिन्छ ।’ लक्ष्य अनुसार सबैले औषधि खाएपछि मात्र यो रोगलाई निवारण गर्न सकिने भन्दै नखाएमा यो रोगको संक्रमण धेरैलाई बढ्ने पनि उनको भनाइ छ ।   गत वर्ष उपमहानगरमा ७८.३३ प्रतिशतले औषधि खाएको पनि उनले जानकारी दिए । जिल्लामा अहिले २ हजार ४४ जना नयाँ तथा पुराना हात्ती पाइले रोगका बिरामीहरू रहेको र ति मध्य तुलसीपुरमा ३०४ जना रहेको पनि उनले  जानकारी दिए ।

उनका अनुसार रोगको व्यापकता दर ४.८ प्रतिशत अर्थात एक सय जना मध्य ५ जनामा हात्ती पाइले रोगको परजीवी रहेको एक अध्ययनले देखाएको छ ।  उनले प्रत्यक्ष रूपमा जन प्रतिनिधिहरू आफै समुदायमा खटेर औषधि खुवाउने अभियानलाई सफल बनाउन लागेको भन्दै औषधि खाने कार्यक्रम समुदायमा विद्यालयमा रहेको र  यदि कोही कसैले औषधि खान छुटाएको  भएकोमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी औषधि सेवन गर्न समेत आग्रह गरेका छन् ।  यस पटकको यो अभियानमा  औषधि खाएर सहभागी भई सभ्य नागरिकको परिचय दिन पनि उनले आग्रह गरेका छन् । औषधि खाएर पेटमा र रगतमा भएका जुकाहरू नष्ट हुने भन्दै औषधि नखाएमा  हाइड्रोसिल, खुट्टा  सुन्निने, खोकी लाग्ने, छालाको समस्या हुने पनि उनले जानकारी दिए ।

 यस वर्ष हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानलाई अन्तिम वर्ष बनाउने  लक्ष्यका साथ स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू टोल बस्तीमा घर दैलोमा आउन लागेका भन्दै यति कसैले  औषधि खान आनाकानी गरेमा  वा  स्वास्थ्यकर्मीमाझ दुर्व्यवहार गरेमा नाम सार्वजनिक गर्ने  र वडा तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधा, सिफारिस, भत्ताबाट वञ्चित गर्ने समेत उनले चेतावनी दिएका छन् । यो राष्ट्रिय अभियानलाई सफल पार्न अब केही दिन मात्र बाँकी रहेको भन्दै उनले जनप्रतिनिधि, पत्रकार, शिक्षक, कर्मचारी राजनीतिक दल,  समाजिक अभियन्ता ,संघसंस्था  , व्यवसायी,  नगरवासी , सुरक्षाकर्मी सबैलाई आग्रह गरेका छन् । ,यो औषधि सुगर, उच्चरक्तचाप, थाइराइड, ग्यास्ट्रिक , नियमित औषधि सेवन गर्ने  लगायतका समस्या भएका पनि सजिलै खान मिल्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार