दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सरकार फेरबदल नहुने बताए । सोमबार नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने पनि बताए ।
उनले भने,‘ हामी संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौ । प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्य अन्तर्गत एमाले अगाडि बढ्ने छ । हालसम्म संघीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा देखिएको छैन । सत्ता साझेदार दलसँगको आपसी समझदारी अनुसार अगाडि बढिरहेका छौं । प्रदेश सभामा रहेका सबै दलसँग सहकार्य गरी अगाडि बढ्छौ ।’
उनले केन्द्रीय सरकारमा देखिएको समस्याले बामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै देशी विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन विरोधी कार्य हुन थालेको पनि बताए । उनले भने,‘ एमाले – माओवादी बीचको गठबन्धन टुट्नु बामपन्थी आन्दोलन माथिको कुठाराघात हो । यसले बामपन्थी आन्दोलन थप पछाडि धकेलिने खतरा बढ्यो । विदेशीको इसारामा परिवर्तन विरोधी गतिविधि सञ्चालन भइरहेका छन् । यसले मुलुक थप संकटग्रस्त बन्छ ।’
उनले नेपाली जनताको लामो संघर्ष पछि राजनीति आन्दोलनमा सफलता प्राप्त गरेता पनि विकास र समृद्धिको आन्दोलनमा विजय हासिल गर्न बाँकी रहेको भन्दै पार्टीलाई जनतासँग जोडेर जनमतको बलमा समृद्धिको आन्दोलनमा सफलता हासिल गर्ने बताए । जनताको माया, ममता र सद्भावबाट हुर्किएको एमाले जनताको बीचबाट टाढा हुन जान थालेपछि जनतासँग पार्टीलाई जोड्न मिसन ग्रास रुट अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।