तुलसीपुरबाट सडक आश्रित मानवको उद्धार

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १४ गते आइतवार

दाङ :  तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने सात जना सडक आश्रित मानवलाई उद्धार गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरूको उद्धार गरिएको हो । दिउँसोको समयमा खोज्न गारो हुने भएकोले राती सुतेको अवस्थामा उदार गर्न सजिलो हुने भएकोले शनिबार राती ८ बजेपछि सडक पेटीबाट सडक आश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले जानकारी दिए ।  मेची घर बताउने सन्तोष कुमार बुढाथोकीलाई तुलसीपुर ५ बसपार्कको पिपलबोट मुनि सुतिरहेको अवस्थामा उद्धार गरिएको हो ।

बुढाथोकीले आफ्नो परिवारमा आमा मात्र भएको बताएको बताएका थिए । यस्तै पश्चिम दाङ घर बताउने सोही ठाउँमा आश्रय लिएका सुदन रेग्मीको उद्धार गरिएको छ । सडक आश्रित रेग्मीले आफ्नो श्रीमतीको मृत्यु पश्चात आफू भौँतारिएर हिँडेको बताएका थिए ।  उनका एक छोरा सानो र छोरीको सल्यान बिहे भएपछि आफू कहिले कता कहिले कता दिन बिताउँदै आएको बताए ।  यस्तै ओम प्रकाश नाम बताउने व्यक्तिलाई घोराही रोडबाट उद्धार गरिएको छ । उनले बोकेको झोलामा औषधि छन्, भने सुत्नको लागि बोकेको लत्ता कपडा पनि छन् । मानव सेवा आश्रममा जान नमानेका प्रकाशको अवस्था बुझ्दा धेरै महिनाबाट सडकमा बसेको बुझिएको छ ।

यस्तै घोराही रोडको सडक पेटीमा रात बिताउने अर्का एक पुरुष भने बोल्न सक्दैनन् । इसाराले नाम बताउने उनले आफू सडकमा खुसी साथ बसेको अभिव्यक्ति दिए । यस्तै तुलसीपुर १७ मानपुर घर बताउने गोपाल जिएमलाई घोराही रोडबाट उद्धार गरिएको छ । यस्तै तुलसीपुर–१० घर बताउने देवी खरेल र कोहलपुर घर बताउने प्रकाश थारूलाई यातायात कार्यालय नजिकैबाट उद्धार गरिएको छ । आश्रम प्रमुख जोशीसहित तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्ल, महिला अधिकारकर्मी सुष्मा गिरी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुसाल र पत्रकारको सहभागितामा सडक आश्रित मानवको उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार