राष्ट्रपति पदका लागि कांग्रेसबाट पौडेल र एमालेबाट नेम्वाङ भिड्दै

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १३ गते शनिवार

काठमाडौं  :  राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा ( एमाले ) बाट उपाध्यक्ष सुवास नेम्वाङले मनोनयपत्र दर्ता गराएका छन् । कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भएका पौडेल गत मंसिर ४ गते तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत पनि हुन । पौडेलको उम्मेदवारीलाई नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । यस्तै एमाले उपाध्यक्ष नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन्, भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् । उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताए ।

उनले आफू सबै हिसाबले संविधानको परिपालना गर्न लाग्ने दाबी गरे । उनले स्वस्थ प्रतिष्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भुमिका हुने बताए । संविधान सभा अध्यक्ष एवं पूर्व सभामुखसमेत रहेका उनले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताए । यहि फागुन २५ हुने राष्ट्रपति पदको निर्वाचनमा पौडेल र नेम्वाङबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार