दाङ : नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँरले अहिले यातायात व्यवसायीहरू स्वस्थ रहेपनि यातायात व्यवसाय स्वस्थ नरहेको बताए । शुक्रबार दाङको तुलसीपुरमा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जुन नीति पद्धतिमा यातायात व्यवसाय जानु पर्ने हो ? त्यसअनुसार अगाडि बढाउन सरकार चुकेको आरोप लगाए । उनले भने,‘ हिजो सरकारले सञ्चालन गरेका ट्रलीबस, साझा बस कुन अवस्थामा गएका छन् । यदि निजी क्षेत्रले यो पेसा नसम्हालेको भए आज कस्तो अवस्था हुन्थ्यो होला । त्यसैले हामीलाई राज्य र समाजले धन्यवाद दिनु पर्छ । त्यसमा कन्जुस्याँइ गर्नु पर्दैन । हामीले दिएको सेवाले आज देश अगाडि बढेको छ । यदि हामीले एक दिन मात्र सवारी बन्दा गर्दा त्यसको नतिजा के आउँछ । ’
उनले विगतको दुई तिहाइको सरकारले यातायात व्यवसायीहरू माथि सिन्डीकेटका नाममा स्वदेशमै लगानी गर्ने व्यवसायीहरूलाई अपमान गरेको पनि बताए । उनले भने,‘ हरेक नजित क्षेत्रले राज्यतहमा आफ्नो अधिकार खोज्ने गर्छन् । तर, अहिलेको ३ तहको सरकारले यातायात क्षेत्रलाई तहसनहस बनाउन लागेको छ । ‘ निजी क्षेत्रमा अहिले १० खर्ब बढी लगानी लगाएर ४० लाख बढीलाई रोजगारी दिँदा समेत नत सरकार हामीसँग खुशी भएको छ, नत नागरिकलाई नै खुशी बनाउन सकेको छ । ’ उनले सरकारले यातायात क्षेत्रलाई यातायात मैत्री बनाउँदै व्यवस्थित गर्न राज्यले लगानी लगाउनु पर्ने पनि बताए । उनले आफूहरू सरकारको विरोधी नभएर सहयोगी भएको बताउँदै कोरोनाले थिलोथिलो भएका यातायात व्यवसायीहरूको लगानी सुरक्षित गर्न सरकार लाग्नु पर्ने बताए ।
उनले सरकारले कर लिने र नियम कानुन मात्र लगाउने गरेको भन्दै यसलाई व्यवस्थित गर्नको लागि राज्यले चासो नदिएको पनि बताए । उनले भने,‘ आजका दिनसम्म हामी निजी क्षेत्रबाट नै सम्पूर्ण लगानी र व्यवस्थापन गरेका छौँ । सरकारले कर लिने र नियम कानुन बनाउने मात्र काम गरेको छ । राज्यले यसलाई व्यवस्थित गर्न एक रुपैयाँ खर्च गरेको छैन् । त यसलाई व्यवस्थित गर्न चासो नै दिएको छ । ’ निजी क्षेत्रले मात्र यातायात क्षेत्रलाई ग्रहण गरेर राख्न नसक्ने अवस्थामा रहेको पनि उनको भनाइ थियो । उनले आजसम्म एक रुपैयाँ आम्दानी नगरेर सरकारलाई अग्रिम रुपमा कर तिर्ने व्यवसायी भएको भन्दै अब सरकारलाई कर तिर्ने दिनहरू गएको पनि बताए । उनले भने,‘ अब हामीलाई राज्यले फिर्ता दिनुपर्छ । हामीलाई राज्यले नाफा दिनु पर्दैन । यसलाई व्यवस्थित गर्न राज्यको लगानी चाहिएको छ । दुर्घटना न्यूनिकरण गर्न, प्रशिक्षण गर्न सरकारको लगानी चाहिएको छ ।’
उनले निजी क्षेत्र सरकारको विरोधी नभइ सहयोगी हात भएको भन्दै सरकार बलियो भएपछि मात्र आफूहरूको लगानी सुरक्षित हुने पनि बताए । देशलाई उन्नति तिर लैजानको लागि आफूहरूले हात दिएको भन्दै उनले सरकारले बेवास्ता गरेको पनि बताए । अहिले देश आर्थिक रुपमा तहसनहसअवस्था रहेको भन्दै उनले अब सकारात्मक रुपमा अगाडि बढ्नु पर्ने र राजनीतिक रुपमा मात्र नभइ व्यवहारिक रुपमा सरकार जानु पर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल यातायात राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पूण्य प्रसाद सिटौला (सरोज) ले नेपालको नीति निर्माणमा जबसम्म यातायात व्यवसाय राम्रो हुँन सक्र्दैन तब सम्म मुलुक राम्रो बन्न नसक्ने ठोकुवा गरे । जुन व्यक्तिले जुन विषयमा विज्ञेता हासिल गरेको छ, त्यही सरकारको नीति बन्ने स्थानमा पठाउनु पर्ने उनको भनाइ थियो । उनले यातायात क्षेत्र बुझेको व्यक्तिलाई यातायात मन्त्री सञ्चार क्षेत्रको व्यक्तिलाई सञ्चार मन्त्री बनाएमा मात्रै उक्त क्षेत्रको विकास हुने भन्दै यातायात क्षेत्रलाई अगाडि बढाउन यातायात मन्त्रालय छुट्टै हुनु पर्ने पनि माग गरे । उनले युवाहरुलाई खाडी मुलुक जानबाट रोक्ने यातायात क्षेत्रलाई ध्वस्त बनाउन सरकार नै लागेको आरोप लगाए ।
यस्तै कार्यक्रममा बोल्दै यातायात व्यवसायी निरज चलाउनेले बैकहरूको ब्याजदरका कारण निजी क्षेत्रहरू ध्वस्त हुने अवस्थामा पुगेको बताए । उनले बैंकहरूको ब्याजदरका कारण व्यवसायीहरूले आत्म हत्या गर्ने अवस्था आएको भन्दै सरकार र राष्ट्र बैंक मौन अवस्थामा बसेको आरोप लगाए । सरकारले गरिबी निवारण गर्ने लक्ष्य लिएको भएयता पनि त्यो अवस्था नदेखिएको पनि बताए । यातायात व्यवसायीलाई संरक्षण र प्रवर्द्धन गर्नको लागि संघीय सरकारले चासो नदिएको भन्दै स्थानीय सरकारसँग सहकार्य गरेर अब अगाडि बढ्नुको विकल्प नरहेको पनि उनको भनाइ थियो । उनले भने,‘ हिजो बैंकबाट ८ प्रतिशतबाट लिएको ऋणको ब्याज आज १६÷ १७ प्रतिशत पुगेको छ । अहिले व्यवसायीहरूको साँवा ब्याज तिर्न सकेका छैनन् । निजी क्षेत्रहरू अस्तव्यस्त रहेका छन् । तर, सरकारले यस्तो समस्या सम्बोधन गर्नुको साटो आफ्नो सत्ता कसरी टिकाउने भन्ने ध्यान दिएका छन् ।’ यस्तै उनले सरकारले बस किन्ने भन्दा पनि सरकारले बस हिड्ने बाटो बनाउनमा ध्यान दिनु पर्ने पनि बताए ।
यस्तै अर्का व्यवसायी बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्यले सवारी सडकका चलाउँदा अकस्मात् हुने दुर्घटनालाई सरकारले जबरजस्ती रुपमा चालकका कारण दुर्घटना भएको भन्दै चालकलाई हिरासतमा राख्ने गरेको आरोप लगाए । उनले बिमा क्षतिपुर्ती बापतको ५ लाख रुपैयाँ ३० दिनभित्र नेपाल सरकारले जिल्ला प्रशासनबाट पीडितको हक वालाको नाममा दिने व्यवस्था गरेको भएयता पनि बिमा कम्पनीले ६ महिनासम्म भुक्तानी नदिँदा व्यवसायीहरूले समस्या भोग्दै आएको बताए । अहिले विभिन्न जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमा ५ लाख रुपैयाँ व्यवसायीले डिपोजिट गरेपछि मात्र सवारी छोड्ने नियम आएको भन्दै त्यसलाई कार्यान्वयन गर्न समेत माग गरे ।
यस्तै अर्का पृथ्वी राजमार्ग वस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्र केसीले हामी सबैले आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउनको लागि आफूबाट शुरु गर्नु पर्ने र त्यसपछि मात्र राज्यसँग आफ्ना अधिकारहरू खोज्ने कुरामा लाग्नु पर्ने बताए । देशमा अहिले ३ लाख १७ हजार सार्वजनिक सवारी साधनहरू सडकमा गुडिरहेको भन्दै उनले निजी लगानी गरेका यातायात व्यवसायीहरूले सार्वजनिक सडकमा लगानी गरेको र सडकका कारणले व्यवसायीहरूले धेरै समस्या भोग्दै आएको पनि बताए ।
अहिले व्यवसायीहरू बैंकका कारण मानसिक रुपमा तनाव भइरहेको अवस्थामा पनि सार्वजनिक सवारीका साधनहरू चलाएर सेवा दिँदै आएको भएयता पनि राज्य कहाँ छ ? भनेर खोज्नु पर्ने अवस्था आएको पनि बताए । विदेशीहरूमा राज्यले नै सार्वजनिक सवारीहरू सञ्चालन गर्ने गरेको भएयता पनि यहाँ निजी व्यवसायीहरूले सञ्चालन गर्दा पनि व्यवसायी मर्कामा हुँदा पनि राज्यले ध्यान नदिएको उनको भनाइ थियो ।
उनले राज्यले यातायात व्यवसायीलाई लगाउँदै आएको संगीत कर खारेजी गर्न समेत माग गरे । उनले बाग्मती प्रदेशले रातो प्लेटका २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधनले ५० हजार र ७५ हजार तिरेर दर्ता गरी उसले सवारी साधन सञ्चालन गर्न पाउने नियम गराएको भन्दै त्यसलाई खारेजी गर्न समेत माग गरे । यो समस्या देशभर हुनसक्ने भन्दै महासङ्घले ध्यान दिनु पर्ने बताए ।
सडकका कारण सवारी साधनले समस्या पाए : तुलसीपुर नगरप्रमु खड्का
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सडक अस्तव्यस्त हुँदा यातायातका साधन सञ्चालनमा समस्या भइरहेको बताए । उनले संघ र प्रदेशबाट निर्माण हुने सडकहरू समय मै निर्माण नहुने र निर्माण भएका सडकहरू पनि गुणस्तरहीन हुँदा सवारी सधान सञ्चालनमा समस्या भइरहेको बताए । यस्तै उनले यातायात क्षेत्रलाई राज्य सहज वातावरण नगरेको पनि स्वीकार गरे । उनले सरकारले सडकहरू समय मै सम्पन्न गर्ने कुरामा ध्यान नदिएको भन्दै स्थानीय सरकारलाई ति सडकहरू निर्माणको अधिकार नभएको पनि बताए ।
आफूहरूले निर्माण गर्दा उल्टै आफूहरूलाई अख्तियार लाग्ने भन्दै संघ र प्रदेशका सडकहरू समय मै निर्माण नहुँदा दुर्घटनाको केन्द्र सडक बन्नु पुगेको पनि उनले उल्लेख गरे । अहिले विभिन्न राजमार्गहरू यहाँ बाटो थियो र ? भन्ने अवस्थामा रहेको भन्दै काठमाडौँको बाटो त सहज छैन् । देशको हालत के होला ? भन्दै प्रश्न गरे । एकातिर सडकका कारणले र अर्कोतर्फ देशको अर्थतन्त्रका कारण व्यवसायीहरूले मार खेप्दै आएको पनि बताए । उनका अनुसार आज व्यवसायीहरूले मागेर पनि ऋण नपाउने अवस्था आएको छ । ऋणको ब्याजका कारण व्यवसायीहरूले व्यवसायबाट हात झिक्नुको विकल्प छैन् । उनले व्यवसायीलाई गाली गरेर नहुने भन्दै राज्यले त्यसको जिम्मेवारी लिनु पर्ने समेत बताए । उनले तुलसीपुर उपमहानगरले नगर बस सञ्चालन गर्ने योजना बनाएको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर जाने पनि बताए । आवश्यक ऐन कानुन र कार्यविधि बनाएर नगर बस सञ्चालन गर्ने मनसायका साथ अगाडि बढेको उनको भनाइ थियो ।