सगरमाथा बालबाटिका स्कुलको आँखा जाँच कार्यक्रम, ७ जनालाई निःशुल्क चस्मा प्रदान

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १२ गते शुक्रवार

दाङ :तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा रहेको सगरमाथा बालबाटिका इङ्लिस स्कुलले शुक्रबार विद्यालयमा विद्यार्थीका आँखा जाँच कार्यक्रम गरेको छ ।  राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक  सहयोगमा विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा २८० भन्दा बढि विद्यार्थीहरूको आँखा जाँच भएको विद्यालयले जनाएको छ ।  कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेत्र सहायक बालिका सेरपाइलीले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालयले आयोजना गरेको आँखा जाँच कार्य एकदमै सराहनीय भएको बताइन् ।

उनले आँखा कम्जोर हुनबाट बचाउनको लागि विद्यार्थीहरूलाई खानपिनमा ख्याल गर्न आग्रह गर्दै प्रसस्त मात्रामा सागपात, गेडागुडी, फलफूलभिटामिन ‘सि’ प्राप्त हुने खाने  कुराहरू खान समेत आग्रह गरिन् ।  यस्तै कार्यक्रममा  बोल्दै  अर्का अतिथि पत्रकार गोपाल शर्मा भट्टराईले विद्यालयमा नयाँ नेतृत्व  पश्चात विभिन्न कार्यक्रमहरू सञ्चालन  हुँदै आइरहेको भन्दै जसले गर्दा विद्यार्थीहरूको व्यक्तित्व, नेतृत्व विकास र स्वास्थ्यमा उल्लेखनीय टेवा पुग्ने बताए । उनले विद्यालयले पढाइलाई मात्र नभएर विभिन्न गतिविधिहरूलाई प्राथमिकतामा राखेको विभिन्न सामाजिक सञ्जालमा देख्दा धेरै खुशी लागेको पनि बताए । 

यसैगरी विद्यालयले पढाईलाई मात्र नभइ विद्यार्थीहरूलाई अन्य कुराहरूमा पनि अब्बल बनाउनको लागि विभिन्न गतिविधिहरू गर्दै आएको विद्यालयका प्रअ वलीले बताए । उनले भने,‘ हामीले पढाईलाई मात्र ध्यान दिएका छैनौँ ।  विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापहरू पनि गराउँदै आएका छौँ । जसले गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक रुपमा मात्र नभइ समाजमा पृथक र अब्बल गराउन महत्वपूर्ण भूमिका हुने छ । ’ यस्तै आजको आँखा जाँच कार्यक्रमले विद्यार्थीहरूमाझ आँखामा भएको समस्या थाहा हुने भएकाले पनि गरिएको बताए । उनले कार्यक्रममा दृष्टिदोष देखिएका ७ जना विद्यार्थीहरूलाई निःशुल्क  चश्मा उपलब्ध गराउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार