दाङ : घोराहीका स्थानीयहरूले सडक अलपत्र पारेको भन्दै सडक डिभिजन कार्यालय दाङमा विरोध प्रदर्शन गरेका छन् । घोराहीको तुलसीपुर चोकदेखि कटुवा खोलासम्मको सडक अलपत्र पारेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालय दाङमा विरोध प्रदर्शन गरेका छन् । सामाजिक अभियन्ता तथा दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल र चित्रकान्त आचार्यको नेतृत्वमा भएको विरोध प्रदर्शन टोलीले सडक डिभिजन कार्यालयको गेटमा एक घण्टा ताला लगाएको थियो । उक्त सडक २०७७ सालदेखि अलपत्र अवस्थामा रहेता पनि सडक हालसम्म पनि निर्माण भएको छैन् । जसका कारण नागरिकहरूले धेरै सास्ती भोगेको उनीहरूको भनाइ छ । २०७७ साल असार मसान्तदेखि यस सडक निर्माणको लागि कुनै पनि म्याद थप नभएको र धरौटी रकमबाट पनि काम सम्पन्न भएको भुसालले बताए ।
उनले भने,‘ २०७७ साल असार मसान्तपछि यस सडक निर्माणको लागि म्याद थप भएको छैन् । न ठेकेदारको धरौटी रकमबाट सडक निर्माणको काम भएको छ । न व्यवसायीलाई कालो सूचीमा राखिएको छ । आज सडक कार्यालयका प्रमुख ज्यू कहाँ हुनुहन्छ, हामीलाई थाहा छैन् । हामीले लमहीदेखि तुलसीपुर सम्मको चार लेन सडक समय मै निर्माण हुनुपर्छ, भनेर विभिन्न समयमा आवाज उठाएको भएयता पनि कुनै सुनुवाइ भएन ।’ उनले यो सडक निर्माणको लागि स्थानीय सरकारलाई भन्दा हाम्रो अधिकार नपर्ने भनेर जवाफ दिने गरेको भन्दै प्रदेशलाई भन्दा पनि उहीँ जवाफ आउने गरेको बताए ।
‘ यो सडक निर्माणका लागि स्थानीय सरकारलाई भन्दा हाम्रो क्षेत्राधिकारमा पर्दैन, भन्ने गर्छ । प्रदेशलाई भन्दा पनि उही जवाफ आउँछ,‘ उनले भने,‘ सङ्घलाई भन्दा निर्माण व्यवसाय अत्यन्त ठुलो हुनुहुन्छ । हामीले उहाँलाई काम लगाउन सक्दैनौँ, भनेर भन्छ । आज सरकारको निरीहताको कारण चारलेन सडकमा करिब २५ जनाले ज्यान गुमाएका छन् । यस्तै उनले घोराही ३ गोग्लीमा केही समय अगाडि जापान जान तयारी रहेका एक युवकको सडकमा भएका खाल्टाखुल्टीले गर्दा बाइक दुर्घटना हुँदा ट्रकले च्यापेर मृत्यु भएको भन्दै परिवारको एक्लो छोरा गुमाउँदा आमा – बुबाको हालत कस्तो रहेको छ, यस्ता दर्दनाक घटनाहरू हुँदा पनि सडक डिभिजन कार्यालय प्रमुखको र सरकारको निद्रा नखुलेको आरोप लगाए । आज बाध्य भएर टोल संस्था तथा नागरिक समाज र उद्योग वाणिज्य संघको समन्वयमा २०७७ सालपछि निर्माण व्यवसायीलाई म्याद थप्ने कुरामा आलटाल गरेको हुँदा त्यसको विरोधमा उत्रिनु परेको बताए ।
उनले भने,‘ आज हामीले गेटमा ताला लगाएर कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई तपाईँहरूको काम छैन् । तपाईँहरूको काम गर्नसक्ने क्षमता छैन् । यहाँका माननीयहरूले तपाईँहरूलाई काम लगाउन सक्नु भएन । राजनीतिक दल मुकदर्शक भएर बस्नु भएको छ । आज सडक अस्तव्यस्त हुँदा नागरिकहरूले धेरै समस्या बाध्य भएर विरोधमा उत्रिएका हौँ ।’ उनले जिल्लाबाट नेतृत्व गर्ने माननीयहरू मात्र नभइ स्थानीय तहका जनप्रतिनिधिहरू यही बाटोबाट हिँड्दा समेत कुनै चासो नदिएको आरोप लगाए । उनले नेताहरूलाई जनता निर्वाचनको समयमा मात्र चाहिने भन्दै यदि सडक निर्माण कार्यलाई चासो नदिए थप आन्दोलनका कार्यक्रमहरु गर्ने समेत चेतावनी दिए ।
यस्तै अर्का स्थानीय शिवशङ्कर देवकोटाले सडकको धुलोको कारण महिनामा २ / ३ पटक अस्पताल ध्यान बाध्य भएको बताए ।
उनले सडक डिभिजन कार्यालय प्रमुखको आँखा नखुलेको भएमा आफूहरूले आँखा खुलाउनको लागि चन्दा उठाएर तिलंगा पठाउने समेत बताए । उनले भने,‘ कार्यालय प्रमुख ज्युले आँखा देख्नु हुँदैन भने हामी पैसा उठाएर उपचार गर्न तिलगंगा पठाउँछौँ । यदि उहाँले आँखा देख्नुहुन्छ, भने यहाँको अवस्था के हो ? कार्यालय प्रमुखको हैसियतले गर्नु पर्ने कर्तव्य के हुन् । ति कुराहरुमा उहाँले मनन् गर्नु पर्छ । हामीले सडकका बारेमा पटक पटक भन्दा उहाँले पत्याउनु भएको छैन् ।’ यस्तै नागरिक समाज दाङका संयोजक केवी मसालले नागरिकको आन्दोलनलाई ख्यालठट्टा नठान्न समेत आग्रह गरेका छन् ।
उनले सडकका कारण नागरिकहरूले धेरै समस्या पाएको भन्दै त्यसैको विरोधमा आज सडक कार्यालयको गेटमा विरोध गर्न आएको पनि बताए । यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टङ्कसिंह बुढाथोकीले बाटोघाटो व्यवसायीसँग जोडिने पनि बताए । उनले सडकका कारण नागरिक लगायत व्यवसायीहरूलाई नोक्सानी भइरहेको पनि उल्लेख गरे । सडकका कारण धेरै व्यवसायहरु डुवानमा पर्ने गरेको भन्दै यसका लागि पटक पटक आवाज उठाउँदै आएको उनको भनाइ थियो ।