दाङ : प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दर्शीका दिन मनाइने गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व मंगलबार नेवार समाज तुलसीपुरले तुलसीपुरको बिरेन्द्रचोक मनाएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी नेवार समुदायले मनाउँने गर्छन् ।
परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताइन्छ ।
यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा ( जगात ) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावली अनुसार गठेमङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्रीपुरुषले दर्शन गर्नुपर्ने चलन छ ।
यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घन्टाकर्णको पूजा आराधनालाई देशै भरका नेवार समुदायले महत्वपूर्ण मान्छन् ।