दाङ : घोराहीमा जारी प्रथम स्वर्गीय खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् । नेपाली कांग्रेस दाङको आयोजनामा सञ्चालित प्रतियोगिताको शनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिका लाई २५ – २१, २५ – २१ र २५- १४ अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै तुलसीपुरले फाइनल यात्रा तय गरेको हो ।
त्यस्तै दिउँसो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिका लाई २५-१६, २५-२० र २५- २० अर्थात ३- ० को सोझो सेटमा पराजित गर्दै राप्ती गाउँपालिकाले तुलसीपुरसँगको फाइनल भिडन्त पक्का गरेको हो । उल्लेख्य दर्शकले खचाखच भरिएको सहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफूलाई उपाधिको दाबेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएका दुबै टिमको फाइनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
फागुन १६ गतेबाट सञ्चालित प्रतियोगितामा जिल्लाका दस पालिकाका टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप, मेडल, प्रमाणपत्र हात पार्नेछन् , भने व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कारको ब्यवस्था गरिएको प्रतियोगिताका संयोजक राजु आचार्यले जानकारी दिए ।
यसैबीच आयोजकले आइतबार हुने फाइनल खेल तथा समापन समारोहमा उपस्थितिका खेल प्रेमी, खेलाडी, उद्योगी ,ब्यबसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।