‘दाङ क्रिकेट लिग २०७८’ हुँदै

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन २१ गते शनिवार

दाङ :  दाङमा पहिलो पटक सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता ‘दाङ क्रिकेट लिग २०७८’ हुने भएको छ । दाङ क्रिकेट संघको आयोजनामा आगामी चैत्र १२ गतेदेखि १८ गतेसम्म ५ वटा फ्रेन्चाइज क्लबमार्फत खेलाडी खरीद गरेर घोराहीमा प्रतियोगिता हुने संघका अध्यक्ष प्रदीप मजगैयाँले बताए । प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलिसकेका खेलाडीहरूले प्रतिष्पर्धा गर्ने समेत उनको भनाइ छ ।घोराही उपमहानगरपालिका १७ स्थित गुलरिया क्रिकेट मैदानमा गर्न लागिएको प्रतियोगिता जिल्लाकै पहिलो ठुलो राशीको खेलाडी किन बेचमा आधारित प्रतियोगिता भएको पनि उनले बताए ।

प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनदेखि जिल्ला बाहिर क्रिकेटको सम्भावना बोकेको जिल्ला हो ? भनेर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने संघका सल्लाहकार कैलाश रोकामगरले बताए । दाङ क्रिकेट लिगका लागि ५ वटा टिमले १४ जना खेलाडी खरीद गर्ने हुँदा प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका २ जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने व्यवस्था गरिएको संघले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टीम रहने छन् ।

जसमा १३ जना अक्सन विधिबाट आउने छन् , भने एक जना मार्की खेलाडीका रुपमा टिमले आफै खुला रुपमा भित्र्याउन पाउने छ । उक्त खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने आयोजक मजगैयाँले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम चलिसकेका खेलाडीहरूले समेत नाम दर्ता गराएका छन् । प्रतियोगिताका लागि अक्सानमा न्यूनतम ४ हजारदेखि अधिकतम १ लाख ४ हजार रुपैयाँसम्म टिमले खर्च गरेर खेलाडी अनुबन्धन गर्ने नियम रहेको छ ।

प्रतियोगितामा जिल्लाको पहिचान झल्कने गरी टिमको नाम राखिएको आयोजकले जानकारी गराएको छ । लिगका लागि करिव २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट म्यान अफ द सिरिज खेलाडीलाई नगद १५ हजार, म्यान अफ द म्याचलाई नगद १५ हजार, सबैभन्दा धेरै रन र विकेट लिने खेलाडीलाई १०–१० हजार र इर्मेजिङ प्लेयरलाई नगद पाँच हजार रुपैयाँ पुरस्कृत प्रदान गरिने भएको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार