बाँकेमा अटोमेटिक पेस्तोलसहित बाँकेमा ३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १८ गते बुधवार


दाङ :  बाँकेमा प्रहरीले अटोमेटिक पेस्तोलसहित ३ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका १२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, नेपालगन्ज १८ का २२ वर्षीय सुशान्त केसी र कैलाली लम्कीचुहा नगरपालिका ३ का द्वारिका उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मंगलबार राती ९ बजेतिर बाँकेको डुडुवा गाउँपालिका ४ राप्ती नदि पुल नजिकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रवक्ता एवं डीएसपी मुधुसुधन न्यौपानेले जानकारी दिए । उनका अनुसार राप्ती नदीको पुल नजिक गोली चलेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट खटिएको प्रहरी टोलीले नेपालगञ्जदेखि राप्ती नदीको पुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकेर चेकजाँच गर्ने क्रममा मेडइन यूएस लेखेको अटोमेटिक पेस्तोल र सोही पेस्तोलमा लोड भएको ७ थान गोली बरामद भएको थियो ।

त्यस्तै गाडीबाट खुँडा एक थान र नक २ थान समेत बरामद भएको उनले जानकारी दिए । खुँडा केसीको र नक अधिकारीको रहेको अनुसन्धानबाट खुल्न आएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पेस्तोल अधिकारीले ३ महिना पहिले भारत लखनउका अशरफ अलीसँग ११ साउण्ड गोलीसहित ५० हजार भारुमा खरिद गरेका थिए । यस्तै अधिकारी यसअघि पनि ‘ज्यान मार्ने मुद्दा, जबरजस्ती करणी प्रयास, लागूऔषध, चोरी लगायत विभिन्न घटनामा संलग्न पक्राउ पर्दै अदालतबाट धरौटीमा छुट्दै आएका थिए ।

२०७७ साल मंसिर ११ गते नेपालगन्ज २ बागेश्वरी मन्दिर नजिक बस्ने सहर्ष विक्रम शाहलाई खुकुरी प्रहार गरेपछि शाहले दिएको जाहेरी अनुसार उनी ज्यान मार्ने मुद्दाका फरार रहेको समेत प्रवक्ता न्यौपानेले जानकारी दिए ।

उनीहरु तिनै जना राप्ती नदी पारिको जग्गा हेर्न भनेर बेलुकी नेपालगन्जबाट निस्किएको र त्यही क्रममा अधिकारीले पेस्तोलमा गोली लोड गरी दुई राउन्ड फायर गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को उपदफा १३० अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार