दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १८ गते बुधवार


दाङ :  दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलबार घोराही–धारापानी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना र गढवामा कार र मोटरसाइकल जुध्दा एक बालिका गरी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराही १७ कर्जाहीमा रा ४ प २७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट घोराही १५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो । धारापानी मेला हेर्न गएका चौधरी अटोमा चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

यस्तै गए राती देउखुरीमा कार र मोटरसाइकल जुध्दा राप्ती गाउँपालिका ७ की १० वर्षीया सन्ध्या चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएकी बालिकाका लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी घाईते हुनेमा राप्ती गाउँपालिका ६ का ४५ वर्षीय जयराम चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० बर्षिया वेदकुमारी चौधरी रहेका छन् । दुवै जनालाई लमही स्थित फ्लोरेन्स अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको छ । गोबरडियाबाट सीसहनिया तर्फ जाँदै गरेको लु २ च ७६८२ नम्बरको कार र विपरित दिशाबाट आँउदै गरेको रा ४ प ३४६१ नम्बरको मोटरसाइकल गएराती साढे १० बजे गढवा गाउँपालिका २ महादेवा पुल नजिकै जुध्दा कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाइकल चालक सुनसरी रामदुनी ३ का ३२ वर्षीय महमद सलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको प्र १ ०२०४६ प ४८९९ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार