दाङ : तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोटकी मनकला पुन मगर गृहणी हुन् । उनको दैनिक चुलोचौको गर्ने, घाँसपात गरेर नै बित्ने गर्दथ्यो । तर, बाइसेचौबिसे राजाहरूको राज्य तथा धार्मिक कथन अनुसार सतीदेवीको कुम पतन भएको पुण्यस्थल रुपमा चिनिँदै आएको छिल्लीकोट पछिल्लो समयमा पर्यटकको रोजाइ बनेपछि उनको दैनिक पनि फेरिन थालेको छ । पर्यटकहरूलाई बास बस्ने र खुवाउनको लागि उनको घरमा होमस्टे सञ्चालनमा आएको छ ।
घरमा होमस्टे सञ्चालन भएपछि चुलोचौको र घाँसपातमा मात्र नभई उनीलाई पाहुनाहरूलाई खाना पकाउने, सेवा सत्कार गर्नेमा बित्ने गर्दछ । उनले भनिन्,‘ गाउँघरमा अहिले होमस्टे सञ्चालन भएका छन् । जसले गर्दा हामीलाई धेरै खुशी थपेको छ । पहाडी क्षेत्रमा पर्ने भएकाले हामीले धेरै दुखकष्ट पाएका छौँ । तर, अहिले गाउँमा बाहिरबाट पाहुनाहरू आउन थालेपछि जानी नजानी भएपनि सेवा सत्कार गर्ने गर्दछौँ ।’
उनले घरमा आउने आफन्तलाई जस्तै सेवा पाहुनाहरूलाई दिन्छिन् । उनले पाहुनाहरूको रोजाइ अनुसार नै कोदोको ढिँडो, सिस्नुको तरकारी टिमुर र मालागेडीको मसलाको स्वादमा, नास्तामा फापर वा मकैको रोटी, लोकल कुखुराको मासु लगायतका परिकारहरू खुवाउने गरेको बताइन् । गाउँमा बाहिरबाट पाहुनाहरू घुम्न आउँदा आफ्नो ठाउँको पनि प्रचार भएको र आफूहरूलाई पनि आर्थिक आयआर्जनको लागि सहज भएको उनको भनाइ छ । भग्नावशेषका रुपमा रहेको छिल्लीकोट दरबार, ऐतिहासिक एवं धार्मिक स्थल कालिका मालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिला ( मालागेडीको ) मनोरम वनले प्रख्यात छिल्लीकोटमा अहिले थप पर्यटकीय पूर्वाधारहरू निर्माण हुन थालेपछि यसले थप पर्यटक आउन थालेको स्थानीयरहेको भनाइ छ । छिल्लीकोटमा करिब ढेड सय घरहरू रहेका छन् ।
ति मध्य अहिले ७ जनाले होमस्टे सञ्चालन गरेका छन्, भने ३ वटा सञ्चलनमा आउन लागेको छिल्लीकोट होमस्टे सञ्चालन सचिवालयका संयोजक परवीर पुनले बताए । उनका अनुसार छिल्लीकोट अवलोकन गर्न आउने र फर्कनेहरूको सुविधाका लागि होमस्टे सञ्चालन गरेपछि कम्तिमा एक रात बिताउने थलो बन्न लागेको हो ।एक पटकको छिल्लीकोटमा पुग्ने पर्यटकले कालिका मालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन लगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्ने गर्दछन् । त्यति मात्र नभई पर्यटकहरूलाई मनोरञ्जनका लागि ,मुरली, खैचँडी , मगर संस्कृतिका पहिरनहरू, पाउजु लगायत सामाग्रीहरू पनि दिइन्छ । ‘
होमस्टे भर्खरै चल्न सुरु मात्रै गरेका थिए, तर, कोरोना महामारीले गर्दा सुनसान बनाइदियो,‘ उनले भने,‘ स्थानीय सरकारसँगको सहकार्य र केही दातृ निकायको सहयोगमा छिल्लीकोटमा होमस्टे सञ्चालनमा आएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले पाहुनाहरुका लागि सुत्ने बिछौना र बाद्यवादनका सामग्रीहरु सहयोग गरेको हो । कारितास नेपालले पनि अन्य केही सहयोग गरेपछि छिल्लीकोटबासी होमस्टे सञ्चालनमा हौसिएका छन् । ’
उनका अनुसार सादा खानाको मूल्य प्रतिव्यक्ति एक छाकको १ सय २० रुपैयाँ र मासु खानाको प्रतिव्यक्ति प्रति एक छाकको ३ सय रुपैयाँ तोकिएको छ । त्यस्तै एक रात सुत्न दिएको चार्ज प्रतिव्यक्ति १ सय रुपैयाँ लिने गरेको गरिन्छ । उनले उपमहानगरपालिकाले मूल्य तोकिदिएका कारण सबैमा एउटै मूल्य रहेको पनि बताए । त्यस्तै उनले राम्रोसँग होमस्टे सञ्चालन गर्न सकिए कम्तिमा ५ जना परिवारलाई पाल्न सकिने समेत बताए । होमस्टे तल्लो स्तरका ब्यक्तिहरुलाई माथि उठाउने व्यवसाय भएका कारण आफूहरुले थप व्यवस्थित गर्न लागेको समेत उनको भनाइ थियो । उनले भने,‘ अहिले पनि २÷४ जना पर्यटकहरु आउने बस्ने गर्नु भएको छ । तर, कोरोना महामारीले गर्दा हामीले सोचेको जस्तो भएको छैन् ।
यदि कोरोना महामारी अवस्था नभएको भए यहाँ हामीले सोचेको भन्दै धेरै आउनु हुन्थ्यो ।’त्यस्तै अर्को होमस्टे सञ्चालक जीवराज रेउलेले पनि होमस्टे संचलान गरेपछि आफूलाई आय आर्जन गर्ने स्रोत मिलेको बताए । उनले संचलान गरेको एक महिनामा सबै खर्च कटाएर २७ हजार बचत भएको भन्दै कोरोना महामारीले गर्दा पर्यटकहरु नआउँदा समस्या भएको बताए । उनको होमस्टेमा एक रात बिताउनका लागि बढीमा ८ जना अटाउने ठाउँ छ । अर्थात् पुरै छिल्लीकोटका होमस्टेले करीव ७० जना पाहुनालाई एक रात सुताउन सकिन्छ । उनको घरको आँगनमै क्याम्प–फायर पनि हुन्छ रे चिसो मौसममा । पाहुनाको चाहनाअनुसार क्याम्प फायर पनि चलाउने गरेको उनको भनाइ छ ।
‘एक-दुई जना अम्रिकन पाहुना तथा पोखराको डाँडाघरे वाइन कम्पनीका ७ जना पाहुना पनि मेरोमा एक रात बसेर गएका थिए’, उनले भने ‘अरु पाहुना त धेरैजसो दाङ जिल्लाकै आउँछन् । छिल्लीकोट आउने पाहुनाहरूलाई पालैपालो सबै होमस्टेमा बाँडिने गरिन्छ । कसैले बढी र कसैले पाहुना पाउँदै नपाउने अवस्था हुँदैन् ।’ त्यस्तै छिल्लीकोटलाई पर्यटकीय केन्द्र बनाउनको लागि तुलसीपुर उपमहानगरपालिकाले पनि विभिन्न सहयोग गर्दै आएको तुलसीपुर १९ का वडाध्यक्ष राम बहादुर योगीले बताए । त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनको लागि उपमहानगर र वडाले पनि लगानी लगाएको उनको भनाइ छ ।
छिल्लीकोटमा सडक, पानी, विद्युतको समस्या रहेको हुँदा करिब सवा करोडको लगानीमा लिफ्टबाट पानी पु¥याएको र विद्युत, सडक पनि पु¥याएको समेत उनले बताए । त्यस्तै पुराना जीर्ण अवस्थामा रहेका मन्दिरहरुको मर्मत गरेको र त्यहाँ गएका पर्यटकहरूलाई सबै ठाउँको दृश्यअवलोकन गर्नको लागि भ्युटार निर्माण गरेको समेत उनले बताए ।
जीपलाइन निर्माण गर्न हुँदै
त्यस्तै पर्यटकलाई तान्नको लागि छिल्लीकोटमा पहिलो पटक जीपलाइन निर्माण गर्न थालिएको छ । नेपालका विभिन्न ठाउँमा जीपलाइन सञ्चालनमा ल्याएसँगै पहिलो पटक दाङको छिल्लीकोटमा सहासिक खेल जीपलाइन सञ्चालनमा ल्याउन थालिएको छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक शिव श्रेष्ठका अनुसार एक करोड दश लाखको लागतमा जीपलाइन बनाउन थालिएको हो । जीपलाइन निर्माण गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेपछि स्थानीय सामुदायिक वनको क्षेत्रमा जीपलाइन निर्माणको काम सुरु भैसकेको छ ।
तुलसीपुर १९ मा रहेको भूल्के सामुदायिक वनसँग जीपलाइन सञ्चालनका लागि दश वर्षे सम्झौता गरिएको छ । सम्झौताअनुसार कम्पनीले प्रतिवर्ष प्रतिहेक्टर ३५ सय कर तिर्नु पर्नेछ । निर्माण कम्पनीले भने जीपलाइन क्षेत्रमा दुई कठ्ठा जग्गा मात्रै प्रयोग हुने बताएको छ । जीपलाइन कालिका मन्दिरबाट सुरु हुने र भूल्के सामुदायिक वनको चोरकाटे भेरी खोरमा ल्याण्डिङ हुने गरी निर्माण गर्न थालिएको छ । करिब १२ सय मिटरको दुरीमा रहनेछ । निर्माण कम्पनीले उक्त जीपलाइन नेपालकै सबैभन्दा लामो दुरीको दाबी गरेको छ । निर्माण शुरु गरेको तीन महिनाभित्रै सञ्चालनमा ल्याइने सञ्चालक श्रेष्ठले बताए ।