दाङका यातायात व्यवसायीहरूद्वारा भाडादर समायोजन गर्न माग

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ९ गते सोमवार

दाङ :  यातायात व्यवसायीहरूले सार्वजनिक यातायातको भाडादर समायोजन गर्नुपर्ने माग गरेका छन् । सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपनि भाडादर समायोजन नगरेको भन्दै आफूहरू मर्कामा परेको उनीहरूले गुनासो गरेका छन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले सरकारले तेलको मात्रै मूल्य वृद्धि गरेर यातायात क्षेत्रलाई धराशायी बनाउने काम गरेको आरोप लगाएका छन् ।

सङ्गठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारले कि त मूल्य वृद्धि फिर्ता लिनु पर्ने वा भाडादर समायोजन गर्नुपर्ने माग गरेका छन् ।सरकारले डिजेलको प्रतिलिटर १०४ रुपैयाँबाट १२८ रुपैयाँ प्रतिलिटर डिजेलको मूल्य बढाउदा पनि आफूहरूले पुरानै भाडादरमा गाडी चलाउँदा समस्यामा परेको भन्दै यसरी गाडी चलाउन नसक्ने अवस्थामा पुगेको उनीहरूले बताएका छन् ।

सरकारले एकतर्फी रुपमा यातायात क्षेत्रको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको प्रति आपत्ती जनाउदै अब यसरी गाडी चलाउन नसक्ने उनीहरूले बताएका छन् । सो अवसरमा बोल्दै अम्बिकेश्वरी यातायात प्रालिका भीम बहादुर केसीले राज्यले एकतर्फी रुपमा तेलको मूल्य वृद्धि गर्दा यातायात क्षेत्र मर्का परेको बताए । 

यसका विरुद्ध सबै एकजुट भएर आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए । एक महिना नबित्दै पटकपटक सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा यातायात क्षेत्र बन्द गर्नुपर्ने अवस्था भएको उनले बताए  ।राप्ती अञ्चल  संयुक्त  ट्रक व्यवसायी समितिका कोषाध्यक्ष ईश्वरी पाण्डेले सबै एकजुट भएर मूल्य वृद्धिको बारेमा सरकारलाई दबाब दिनु पर्ने बताए  । त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले राज्यले आफूहरू प्रति गर्ने व्यवहार विभेदपूर्ण भएको  बताए। यातायात क्षेत्रलाई राज्यले जहिले पनि हेपाहा दृष्टिकोणले व्यवहार गरेको आरोप लगाए । 

कोरोना महामारी सुरु भए देखी यातायात क्षेत्रमा सङ्कटमा परेको अवस्थामा समेत राज्यले कुनै सहुलियत तथा राहत नदिएको उनले गुनासो गरे ।  कोरोना महामारीका कारण थला परेको यातायात क्षेत्र बारम्बार तेलको मूल्य वृद्धिले झनै सङ्कटमा परेको उनले बताए ।

राज्यले यातायात क्षेत्रलाई जोगाई राख्नका लागी गम्भिर भएर सोच्नु पर्ने उनको भनाई छ । यस्तै राप्ती सेवा प्रालिका अध्यक्ष विनोद शर्माले यातायात क्षेत्रले पश्चिम महाकाली देखी पुर्न मेची सम्मका नागरिकहरूलाई सेवा दिँदै  आएको बताए  । तर राज्यले आफूहरूको योगदान र भूमिकालाई  मूल्यांकन  नगरेको उनले गुनासो गरे । यस्तै अटो भिलेज व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष पदम पोख्रेलले राज्यले यातायात क्षेत्रको समस्यालाई समाधान गर्न तर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रमको सहजीकरण नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटीका सहसचिव प्रकाश भण्डारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार