विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई दले कालोमोसो

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ९ गते सोमवार

प्यूठान  :  प्युठानको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा माथि अभद्र व्यवहार भएको घटना सार्वजनिक भएको छ । वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला एक्कासि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी प्युठानका कार्यकर्ताहरूले अध्यक्ष राना र प्रमुख प्रशासकीय थापा माथि कालोमोसो दलेर अभद्र व्यवहार गरेका छन् ।

घटना पछि नेपाल कम्युनिष्ट पाटी प्युठानका सेक्रेटरी अजयले वक्तव्य जारी गर्दै जनकारवाही गरिरहेको बताएका छन् ।  जारी वक्तव्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे विकास आधारभुत विद्यालयको कक्षा ६ मा अध्ययनरत सुस्मिता मल्लको मृत्युमा शंकास्पद ब्यक्तिलाई संरक्षण गरेको ,उक्त विद्यालयका शिक्षक शिक्षिकालाई अभिभावकले सामाजिक बहिष्कार गर्दा पनि गाउँपालिकाले संरक्षण गरेको ,प्रदेशबाट प्राप्त ३६ लाख बजेट प्रमुख प्रशासकीय अधिकृतले फ्रिज गरेको र अहिले ३० लाख बजेट बिनियोजन गरि स्टेटमेन्ट अनुसार काम नगरेको लगायतका दश बुद्धे कारणले गर्दा जनकारवाही गरिएको उल्लेख गरिएको छ ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले आफूहरू माथि बिना कारण अभद्र व्यवहार भएको दावी गरे ।  उनले आफूहरू माथि लगाइएको आरोपमा सत्यता नभएको बताए  । विद्यालयमा देखिएको समस्या समाधानका लागी पुगेको अवस्थामा एक्कासि आफूहरू माथि सांघातिक आक्रमणको प्रयास भएको उनले बताए  । घटना बारे छानविन गरी दोषीलाई कारवाहीका लागी आफूहरू कानुनी प्रक्रिया अघि बढाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार