राप्तीमा नेपाली कांग्रेसको प्रजातन्त्र दिवस  मनायो 

Author Logo..
तीर्थराज ज्ञवाली २०७८ फाल्गुन ७ गते शनिवार

दाङ :  राप्ती गाउँपालिका ६ को बगरापुर गाउँमा नेपाली कांग्रेसले ७२ औं प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया गरेको थियो ।  पार्टीका वडा नं ६ का वडा सभापति विश्वम्भर चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरीको प्रमुख आतिथ्यमा शनिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सदस्य गणेश चौधरी, संसद् अलि खा, क्षेत्र नं १ प्रदेश ‘क’ सह सचिव भीम बहादुर चौधरी, पालिका उप सभापति स्यामा रावत, सचिव तीर्थराज ज्ञवाली, संगठन विभाग प्रमुख सुरेन्द्र भुसाल, नेपाल शिक्षक संघ राप्तीका अध्यक्ष मङ्गल प्रसाद चौधरी, सदस्य प्रेम बहादुर चौधरी, धर्म उप्रेती,  क्षेत्रीय प्रतिनिधिहरू एवं टोल कमिटीमा पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रजातन्त्र आगमनमा नेपाली कांग्रेसको भूमिका बारे  क्षेत्रीय  प्रतिनिधि अयोध्या प्रसाद चौधरीले विषय प्रवेश गराएका थिए ।  २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै कार्यक्रमका वक्ताहरूले अब यसलाई संस्थागत गर्दै समता मूलक समाजको निर्माण गर्नुपर्ने बताएका थिए । 

जहानिया हुकुमी शासन अन्त्य भएको दिन, राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको दिन २००७ फागुन ७ को सम्झना गर्दै अन्तरक्रिया कार्यक्रमका शहीदको बलिदानको चर्चा गरिएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विक्रम संवत् १९९७ साल माघमा बलिदानी दिएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ सालमा एकीकरण भएर बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनाको घोषणा गरेको हो । बगरापुर गाउँमा भएको ७२ औं प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको सञ्चालन वडा सचिव सूर्य प्रसाद चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार