रिजर्भ ट्याङ्कीको शिलान्यास

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ६ गते शुक्रवार

 दाङ : बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा सह-लगानी आयोजनाको काम शुभारम्भ भएको छ । तुलसीपुर १९ पकर्रेमा चार लाख लिटर पानी अट्ने रिजर्भ ट्याङ्कीको शुक्रबार शिलान्यास गरेसँगै सह-लगानी आयोजनाको काम शुभारम्भ भएको हो ।

संस्थाले उपभोक्तालाई सहज रूपमा खानेपानीको व्यवस्थापन गर्न र सेवा थप विस्तारका लागि नयाँ रिजर्भ ट्याङ्की निर्माण गर्न लागेको हो । पकर्रेमा निर्माण गर्न लागिएको रिजर्भ ट्याङ्कीले तुलसीपुर १८ र १९ को चौवाखोलादेखि पूर्वपट्टिको करिब ९ सय घरधुरीमा खानेपानीको धारा विस्तार गर्न सकिने अध्यक्ष प्रदीप गौतमले जानकारी दिए ।

ट्याङ्कीको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शिलान्यास गरेका हुन् । नगरप्रमुख पाण्डेले सह लगानीको आयोजना सम्पन्न भएपश्चात् खानेपानीको दीर्घकालीन समस्या समाधान हुने बताए । उनले नागरिकलाई खानेपानीको सहज व्यवस्थापनमा सरकारको दायित्व रहेको बताउँदै बेलझुण्डी खानेपानी संस्थामार्फत धेरै उपभोक्ता लाभान्वित हुने बताए ।

खानेपानी संस्थाले सेवालाई थप विस्तार गरी दीर्घकालीन खानेपानीको समस्या समाधानका लागि करिब ३१ करोडको सह-लगानी आयोजनाको काम अघि बढाएको हो । कुल रकमको ७० प्रतिशत नेपाल सरकारको अनुदान हुनेछ भने ३० प्रतिशत उपभोक्ताले उठाउनु पर्ने छ ।

आयोजनाको काम अन्तर्गत ५ वटा मुहान, ५ वटा रिजर्भ टङ्की , ९४ किलोमिटर शाखा पाइपलाइन विस्तार, १५ किलोमिटर मुख्य पाइपलाइन विस्तार हुने छन् ।आयोजना सम्पन्न भएमा २४ सै घण्टा धारामा पानी आउने र मुहानदेखि मुखसम्म उपभोक्ताले शुद्ध पिउने पानी प्राप्त गर्ने अध्यक्ष गौतमले बताए ।

सह-लगानी आयोजनाको काम मृत सञ्जीवनी स्वामीनारायण सगुन जेभी रूपन्देहीका सञ्चालक सहदेव खड्काले सम्झौता मिति अगावै काम सक्ने बताए । सहल-गानी आयोजनाको काम २०८० साल भदौ १५ गतेसम्म सक्नुपर्ने सम्झौता छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार