दाङ : तुलसीपुर उपमहानगरपालिका ६ चाँदनी टोलका गणेश रेग्मीलाई आफ्नो घर अगाडि थुप्रिएको फोहोर देख्दा लाज लाग्ने गर्दछ । तर, त्यो फोहोर उनले गरेका हैन । तुलसीपुरको पातुखोलाबाट सिँचाइको लागि ल्याएको कुलोबाट उक्त फोहोर आएर उनको घर अगाडि मात्र नभइ टोल भरी नै उस्तै अवस्था रहेको छ । बर्खाको समय होस् वा अन्य समयमा पानी परेपछि यसरी नै कुलामा फोहोर आउँदा आफूहरूले वर्षौँदेखि यस्तै समस्या भोग्दै आएको उनले बताए ।
उनले भने,‘ यो फोहोरले गर्दा हामीलाई धेरै लाज लाग्ने गरेको छ । हामीले गरेको फोहोर होइन् । बजारकाले फोहोर कुलोमा फाल्दा हामीले यसरी समस्या भोग्दै आएका छौँ । घर कुनै पाहुना आएपनि हामीलाई लाज लाग्ने अवस्था छ । थोरै भएपछि हामीले व्यवस्थापन गर्थ्यौ होला । तर, यो पुरै कुलो भरी छ । कहाँ लगेर हामीले फाल्ने ?’ त्यस्तै उनले यो फोहोर व्यवस्थापनको लागि आफूहरूले उपमहानगरलाई जानकारी गराएको भएयता पनि कुनै सुनुवाइ नभएको पनि बताए ।
आफूहरूको ठाउँमा बसपार्क क्षेत्रबाट कुलो आउने र त्यहीबाट फोहोर आउने गरेको उनको भनाइ थियो । उनले फोहोरले गर्दा खेतबारीमा समेत उत्पादन घट्ने गरेको बताए । उनले भने,‘ कुलोबाट अरुको खेतमा पानी आउँछ होला । तर, तुलसीपुर बजारदेखि दक्षिणतर्फका किसानका खेतबारीमा पानी होइन् । पानीका बोतल, प्लास्टिक लगायतका फोहोरहरूपस्छन् । जसले गर्दा हामीलाई धेरै समस्या भएको छ । त्यस्तै अर्का स्थानीय पदम रेग्मीले पनि फोहोरका कारण आफूहरूले धेरै समस्या भएको बताए । उनले फोहोरका कारणले गर्दा आफूहरूलाई खेतीपाती गर्नको लागि समस्या हुने गरेको बताए ।
उनले प्लास्टिक, विभिन्न किसिमका बोतल, अस्पतालका सुइ लगायत फोहोरहरू आउने गरेको बताए । तुलसीपुर बजारबाट गएको फोहोरले वडा नं ६, १०, १२ लगायतका दक्षिण क्षेत्रका स्थानीयहरूले वर्षौँदेखि फोहोरका कारण समस्या भोग्दै आएको गुनासो गर्दै आएका छन् । त्यस्तै तुलसीपुर ६ गोलौराका तेज बहादुर बुढाथोकीको घर अगाडि पशुचौपायालाई पानी खुवाउनको लागि बनाएको पोखरी रहेको छ । तर, उक्त पोखरीमा पानी भन्दा पनि फोहोरले नै भरिएको बुढाथोकीले बताए ।
उनले भने,‘ हामीहरूले पशुचौपायालाई पानी खुवाउनका लागि बनाएको पोखरी छ । तर, त्यो पोखरीमा पानी होइन । फोहोरले भरिएको छ । जसले गर्दा हामीलाई दुर्गन्ध फैलिएको छ ।’ उनले पातुखोलाबाट सिँचाइको लागि आउने कुलोमा फोहोरसँगै मरेका विभिन्न जीवजन्तुहरू र शौचालयको फोहोर पनि आउने गरेको उनले बताए । उनले खोलामा पानी आएपछि फोहोर कुलोमा आउने भन्दै स्थानीयहरूको खेतबारी पुरै भरिएको समेत बताए । त्यस्तै उनले फोहोर व्यवस्थापनको लागि उपमहानगरलाई जानकारी गराएको भएयता पनि उपमहानगरले टोलबाट सिफारिस ल्याएर आउन भन्दै टार्ने गरेको समेत बताए ।
‘ हामी तुलसीपुर बासी हौँ,‘ उनले भने,‘ तर, उपमहानगरले हामीलाई धेरै हेला गरेको छ । बजारका नागरिकहरूले फोहोर फाल्छन् । समस्या हामीले भोग्नु परेको छ । एक जना ब्यक्तिको खेतबारीमा कम्तिमा एक÷दुई गाडी फोहोर छ । के उपमहानगर बजार क्षेत्रका नागरिकहरूलाई मात्र हेर्न हो ?’ त्यस्तै अर्का स्थानीय डुम्रीलाल भण्डारीले आफूहरूले लामो समयदेखि समस्या भोग्दै आएको यहाँका जनप्रतिनिधिहरू देखि कर्मचारीहरूलाई समेत जानकारी भएयता पनि उनीहरूले बेवास्ता गरेको गुनासो गरे ।
त्यस्तै उनले बजार क्षेत्रमा सिँचाइको लागि भएका कुलाहरू पनि अतिक्रमण हुँदै जादा आफूहरूलाई सिँचाइमा पनि समस्या भएको समेत बताए । यता तुलसीपुर उपमहानगरपालिकाले भने तुलसीपुर क्षेत्रमा मात्र नभइ गाउँमा पनि फोहोर व्यवस्थापन गर्दै आएको बताएको छ । उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले फोहोर व्यवस्थापनको लागि जथाभावी फोहोर नफाल्न आग्रह गर्दै आएको र सिँचाइको लागि भएका कुलाहरूमा सरसफाइ गर्दै आएको बताए ।
उनले तुलसीपुर बजारदेखि दक्षिणतर्फबाट रहेका वडाहरुमा फोहोरले समस्या भएको आफूहरूले जानकारी पाएको भन्दै त्यसलाई रोक्न सबैले फोहोर जथाभावी फाल्न रोक्नु पर्ने बताए । त्यस्तै कुनै पनि ठाउँहरुमा फोहोरले समस्या भए सरसफाई शाखामा जानकारी दिए तत्काल फोहोर उठाउने उनको भनाइ छ ।
त्यस्तै उनले आफूहरूले फोहोर व्यवस्थापनको लागि धेरै प्रयास गर्दै आएको भएयता पनि केही कमी कमजोर रहेको स्वीर्काछन् । धेरै वर्षदेखि कुलाहरूमा फोहोर जाम भएको हुँदा सरसफाइ गर्दा पनि अझै रहेको हुँदा ति फोहोरहरू स्थानीयहरूको खेतबारीमा जाने गरेको उनले उल्लेख गरे । तुलसीपुरले दैनिक २२ टन भन्दा बढि फोहोर व्यवस्थापन गर्दै आइरहेको छ, भने फोहोर व्यवस्थापनको लागि पनि फोहोर कर लागू गरेको छ ।