सल्यानको कालिमाटीबाट रात्री बस सञ्चालन

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १ गते आइतवार

 दाङ :   त्रिसिद्देश्वरी  राप्ती यातायात सेवा प्रालिले सल्यानको कालिमाटीबाट रात्री बस सञ्चालनमा ल्याएको छ । कालिमाटी गाउँपालिका क्षेत्र र पश्चिम दाङ  वासीको आवश्यकतालाई मध्यनजर गर्दै सल्यानको कालिमाटीबाट सिधा काठमाडौं बस सञ्चालन गरेको छ । प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवं कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि खत्री र अध्यक्ष हमालले संयुक्त रुपमा रिबन काटेर सेवा शुभारम्भ गरे ।

सो अवसरमा बोल्दै प्रालिका अध्यक्ष सुरेश हमालले देशका सबैजसो शहरहरूमा  आफूहरू दशक देखि निरन्तर यातायात सञ्चालन गरिरहेको बताए । उनले ग्रामीण क्षेत्रलाई शहरसँग जोड्न कालिमाटीबाट काठमाडौं डिलक्स र रात्री बस सञ्चालन गरेको जानकारी दिए । नयाँ रुटमा यातायात सञ्चालन गर्दा सबैको सहयोग आवश्यक रहेको समेत उनले बताए ।

 कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सहन शीलता खत्री ,वडा नम्बर ३ का वडा अध्यक्ष विर बहादुर वली, बबई गाउँपालिका  २ का अध्यक्ष चिन्तामणि शर्मा, नेपाली कांग्रेसका पालिका सभापति टोपबहादुर केसी, नेकपा एमालेका अध्यक्ष केशर सिह बूढा, नेकपा माओवादी केन्द्रका सचिव शालिकराम भट्टराई, नेकपा एमाले समाजवादीका अध्यक्ष गेहेन्द्र केसी, नेपाल स्वतन्त्र मजदुर सङ्गठन दाङका अध्यक्ष केशव भण्डारी, व्यवसायीहरू उमेशचन्द्र मजगैयाँ, प्रकाश भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए । कालिमाटीबाट काठमाडौं दिउँसो ३ बजे र काठमाडौं– कालिमाटी साँझ ५ः३० बजे बस छुट्ने तालिका मिलाइएको छ , भने भाडादर १५ सय कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार