तुलसीपुरलाई नेपालकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सफल : मेयर पाण्डे

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २८ गते शुक्रवार

दाङ :  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले झन्डै ५ वर्षको अवधीमा नेपालकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सफल भएको बताए । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको १० औं नगर सभाको प्रथम बैठकलाई सम्बोधन गर्दै मेयर पाण्डेले । निर्वाचित भएको झन्डै ५ वर्ष उपलब्धीमूलक भएको दावी गरे ।

उनले आफूहरू अन्तिम आर्थिक वर्षमा रहेको र अहिलेसम्म सफलता पूर्वक कामहरू सम्पन्न भएको उल्लेख गरे । उनले आफूहरूकै पालामा तुलसीपुर नेपालकै उत्कृष्ट उपमहानगर घोषित भएको पनि बताए । उनले जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि आइसकेपछि तुलसीपुरको विकासले धेरै फड्को मारेको दाबी गरे ।

उनले समृद्धि तुलसीपुर, सबैका लागी, सधैँका लागी भन्ने नाराका साथ सहरदेखि ग्रामीण भेगसम्म सडक, विद्युत, खानेपानी, सिँचाइ , स्वास्थ्य, खानेपानी, खेलकुद लगायतका थुप्रै महत्वपूर्ण विकास निर्माण भएको पनि बताए ।

साथै उनले तुलसीपुरलाई शिक्षाको हबका रुपमा विकास गर्नका लागि बहुप्राविधिक शिक्षालय, स्वास्थ्य हवका रुपमा मेट्रो अस्पताल सञ्चालन गर्न सफल भएको बताए । यस्तैगरि २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलमा नियमित हवाई उडान भइरहको बताए । उनले भने,‘ कुनै समय गौचरण बनेको विमानस्थल आफूहरू आइसकेपछि नियमित हवाई सेवा, इन्धन डिपो स्थापना लगायतका गौरवपूर्ण कामहरू भएका छन् । ’

त्यस्तै उनले तुलसीपुरका १९ वटै वडामा वडावासीहरूको स्वास्थ्यमा पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाहरू स्थापना भएको र उपमहानगरलाई मातृशिशु मृत्युदर शून्यमा झारेको भन्दै यो ठुलो उपलब्धि भएको बताए ।

यसैगरी सुरक्षित मेयर आवास कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरेको र विकासको मूल आधार मानिएको सडकको विस्तार अन्तर्गत अहिलेसम्म १२ सय किमि सडक स्तरोन्नतिको गरेको पनि बताए । तुलसीपुरलाई स्मार्ट सिटीको अवधारणा अनुसार हरेक योजनाको आवधिक र दीर्घकालिक रणनीतिलाई अघि बढाएको हुँदा यो विकासको मुख्य आधार स्तम्भ भएको उनको भनाइ छ ।

उनले सरकारले स्थानीय तहको निर्वाचनको मिति तोके सँगै अब आउने जनप्रतिनिधिहरूलाई हस्तान्तरण गर्न आतुर रहेको पनि बताए । बताए । नगर सभाको पहिलो बैठकमा नगर प्रहरी विधेयक लगायतका विधेयक पेश गरी छलफल सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार