गढवाका जनप्रतिनिधिको काम देखेर स्थानीय खुशी

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २६ गते बुधवार


दाङ :  स्थानीय तहमा जनप्रतिनिधिहरू  आएको ५ वर्ष पुरा हुन लागेको छ । सरकारले सोमबार स्थानीय तहको निर्वाचनको मिति समेत तोकेको छ । अहिलेको जनप्रतिनिधिहरूको कार्यकाल सकिन लाग्दा अब नयाँ जनप्रतिनिधिहरूको लागि आँउदो बैशाख ३० गते निर्वाचन हुने छ । अहिलेका  जनप्रतिनिधिहरूले  निर्वाचनमा मतदातासँग  गरेको वाचाहरू केही पुरा गरेका छन्, भने केही अझै बाँकी नै रहेका छन् । जिल्लामा १० स्थानीय तह मध्य गढवा गाउँपालिका पनि विकट क्षेत्रमा पर्ने गर्दछ ।

भारतसँग सिमाना जोडिएको गाउँपालिकामा भएकाले विकासले पछाडि नै परेको थियो । तर, स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि गाउँपालिकाको मुहार नै फेरिएको यहाँका स्थानीयहरूको भनाइ छ । निर्वाचनको समयमा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा धेरै काम गर्ने भनेर मतदातालाई आश्वासन देखाए । उनीहरु जनताको लागि नभइ आफ्नो लागि काम गरेको पनि देखियो । तर, करिब ५ वर्षको  अवधिमा भने गढवाका जनप्रतिनिधिहरूले गरेको कामप्रति स्थानीय निकै खुशी भएका छन् । 

गढवा गाउँपालिका ६ का नारायण बहादुर थापा क्षेत्री  भने अहिलेका जनप्रतिनिधिहरूले गरेको कामप्रति सन्तुष्ट नै छन् ।  कुनै समयमा विकास नहुँदा श्रीलंका भनेर चिनिने गढवामा जनप्रतिनिधिहरू आइसकेपछि धेरै परिवर्तन भएको उनले सुनाए ।   उनले भने,‘ पहिले भन्दा विकास राम्रो तरिकाले भएको छ । गाउँ गाउँमा बाटो पक्की बनेका छन् । खोलाहरूमा पुल बनेका छन् । सबै कुरा एक्कासि हुँदैन । तर, अहिलेको विकास हाम्रो लागि राम्रै लागेको छ । ’

उनले गढवाको कालाकाटेदेखि बाँकेको नेपालगन्ज सम्मको बाटो पनि अहिलेका जनप्रतिनिधिहरूको पहलमा भएको भन्दै गाउँपालिकाको भवनदेखि सर्पदंश अस्पताल बनेकोमा आफूहरू धेरै खुशी भएको बताए । ‘ गढवा बजार आउनको लागि कच्ची बाटो थियो,‘ उनले भने,‘ खोलामा पुल थिएन । अहिले पक्की एकदमै सुन्दर सडक भएको छ । पुल बनेका छन् ।  कोइलाबास जानको लागि पनि निकै समस्या रहेको थियो । अब करिब पौने घण्टामा त्यहाँ पुगिन्छ । सबै ठाउँमा सडकहरू राम्रो हुँदा पनि गढवा बजारमा ब्यापार बढेको छ ।  ’

सबै भन्दा सर्पको जोखिम क्षेत्र रहेको गढवामा जिल्ला मै सर्पदंश उपचार केन्द्र भएपनि आफूहरूलाई धेरै राहत भएको समेत उनको भनाइ छ ।  उनले सर्पले टोकेपछि उपचारको लागि कपिलवस्तु वा नेपालगन्ज लैजानु पर्ने अवस्था रहेकोमा अहिले त्यो अन्त्य भएको समेत बताए । त्यस्तै उनले सर्पदंश उपचार केन्द्रमा डाक्टरहरू नबस्दा केही समस्या रहेको समेत बताए । उनले भने,‘ उपचार केन्द्र बनेको छ । तर, यहाँ डाक्टरहरू बस्दैन ।  कसैलाई समस्या परेमा एम्बुलेन्स लिएर घोराही डाक्टर लिन जानु पर्छ । अब जनप्रतिनिधिहरूले यसतर्फ ध्यान दिए । सबैलाई राम्रो हुन्थ्यो ।’त्यस्तै गढवा गाउँपालिका ४ का राम बहादुर थापा क्षेत्री पनि गढवा आएर बस्नेको लागेको ४ वर्ष भयो । उनले पनि स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि आफ्नो ठाउँको धेरै परिवर्तन भएको बताए ।

 त्यस्तै उनले अहिलेका जनप्रतिनिधिहरूले जनताको चाहना अनुसार नै काम गरेको समेत उनले बताए । उनले भने,‘ पहिलेको तुलनामा धेरै काम भएको छ । म गढवा बजारमा आउँदा बाटो राम्रो थिएन । तर, अहिले बाटो राम्रो बनेको छ । बजारको स्वरुप पनि परिवर्तन हुँदै गएको छ । गाउँमा स्वास्थ्य, शिक्षा विद्युत लगायत क्षेत्रमा राम्रो काम भएको छ । ’त्यस्तै गढवा बजारमा व्यवसाय गर्दै आएकी सृजना भण्डारीले पनि पहिँलेको तुलनामा धेरै विकास भएको बताइन् । उनले गढवा बजार आउनको लागि स्थानीय खोलाहरुमा पुल नहुँदा धेरै समस्या भोग्नु परेको भएता पनि अहिले खोलामा पुल तथा सडक राम्रो हुँदा धेरै सजिलो भएको बताइन् ।   

त्यस्तै उनले लमही–कोइलाबास सडक पनि राम्रो भएपछि गढवामा चहल पहल बढ्दै गएको समेत बताइन् । उनले गाउँपालिकाले महिलाहरुको लागि विभिन्न सिप मूलक तालिम दिएर आत्मनिर्भर बनाएको समेत बताइन्  ।  गाउँपालिकामा ८ वटा वडाहरू रहेका छन् । ति वडाहरूमा विभिन्न पार्टीबाट जनप्रतिनिधि निर्वाचित भएका थिए । सबैको सहयोगबाट आफूहरूको कार्यालय सफल भएको वडा नं. १ का वडाध्यक्ष बाबुराम अधिकारीले बताए । उनले आफ्नो क्षेत्र दाङ र कपिलबस्तुसँग सिमाना जोडिएको विकट भएयता पनि आफ्नो कार्यकालमा धेरै काम गरेको दाबी गरे ।

उनले विद्युत्, सडक, स्वास्थ्य, शिक्षा जस्ता कुराहरुमा आफूहरु काम गरेको समेत बताए । उनले भने,‘ मेरो वडा हरेक कुराले पछाडि परेको हो । तर, मैले निर्वाचनमा जुन जनतासँग प्रतिवद्धता गरेको थिए । त्यसै अनुसार काम गरेको छु । तर, मैले कति काम गरेको छु, भन्ने बारेमा मैले भन्दा पनि मेरा ठाउँका जनताहरुले भन्न सक्छन् ।’त्यस्तै वडा नं. ४ का वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनले गाउँपालिका अध्यक्ष एमालेबाट निर्वाचित भएपनि कुनैपनि कुरामा भेदभाव नगरेको बताए । उनले  आफ्नो क्षेत्रमा सडक, खोलाहरूमा पुल, शिक्षा, स्वास्थ्य लगायतका कुराहरुमा धेरै काम गरेको समेत बताए ।

उनले भने,‘ म अहिले मात्र निर्वाचित भएको हैन् । २०४९ साल, २०५१ सालको निर्वाचनमा  पनि त्यही ठाउँमा जितेको थिए । तर, पहिले र अहिलेको जनप्रतिनिधिमा कामको धेरै जिम्मेवारी आएको थिए। त्यसै अनुसार मैले मेरो वडामा धेरै विकास गरेको छु । ’यसैगरी गाउँपालिका अध्यक्ष सहजराम यादवले पनि आफूलाई सबैले सहयोग गर्दा आफ्नो गाउँपालिकामा धेरै विकास गरेको बताए । उनले निर्वाचनमा जनताको सामु गरेको बाचा अनुसार नै धेरै काम भएको भएयता पनि अब १५ बेडको अस्पताल बनाउने काम मात्र बाँकी रहेको बताए ।

उनले आफूहरुको कार्यकाल सकिन लागेको भएयता पनि अस्पताल निर्माणको प्रक्रिया अगाडी बढेको समेत बताए ।  त्यस्तै  तत्कालीन राजपुर, बेला, गढवा, गंगापरस्पुर, गोबरडिहा र कोइलाबास गरि ६ वटा साबिकका गाबिसहरु मिलेर बनेको गाउँपालिकामा अहिले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत लगायतका विकास भएको भन्दै गढवा भौतिक बिकासले धेरै परिवर्तन भएको समेत बताए । उनले गाउँपालिका भारतसंग सिमाना जोडिएको भएकाले नाका क्षेत्रमा विद्युत, सडक, स्वास्थ्य चौकी, विद्यालयको विकासमा धेरै काम गरेको पनि बताए । । उनले आफूहरुको चार बर्षको अवधिमा केन्द्र, प्रदेश र स्थानीय सरकारको पहलमा गढवा गाउँपालिकाले बिकासका दृष्टिले निकै फड्को भन्दै बहुप्रतिक्षित लमही कोइलाबास सडक निर्माणले सार्थकता पाएको समेत बताए ।

त्यस्तै गाउँपालिकाको थप लगानीमा गढवा बजारको सडक दायाँ बायाँ २–२ मिटर थप चौडा गरिएको र राष्ट्रिय गौरबको आयोजना कालाकाटे–गढवा–राजपुर हुदै नेपालगन्ज जोड्ने हुलाकी सडक निर्माणको काम तिब्र गतिमा काम भइरहेको पनि बताए । त्यस्तै कोइलाबासको मुसीनाका र खबरी नाकाका बस्तिहरु गाउँपालिकाको बजेटबाट बजुली बत्तीको पहुँच पुगेको समेत बताए । उनले बिपद्को उच्च जोखिममा रहेको गाउँपालिकामा लअबधिमा सर्पदंश उपचार केन्द्रको भवन बनाएर सेवा सुचारु गरेको र दमकल खरिद गरेर आग लागि नियन्त्रणको सेवा सुचारु समेत बताए । त्यस्तै गाउँपालिकाले सुविधा सम्पन्न तिन तल्ले प्रशासकीय भवन तयार गरि सेवा सुरु गरेको र गाउँपालिकाका ८ वटा वडा कार्यालय भवनहरु निर्माणगरि सेवा संचालन गरेको पनि बताए ।

त्यस्तै वडानं. ६ मा गाउँपालिकाले ११ वटा सटरहरु निर्माण गरि नियमित आम्दानीको स्रोतका रुपमा भाडाँमा दिएको पनि बताए । त्यस्तै शिक्षाको क्षेत्रमो निःशुल्क शिक्षाको अबधारण अंगाल्दै शिक्षक स्वयंसेवक कार्यबिधिी बनाएर सबै जसो सरकारी बिद्यालयहरुमा निजी स्रोतका शिक्षकहरुलाई ब्यवस्थापन गरेको र वालबिकास सहजकर्ताहरुलाई संघ सरकारले उपलब्ध गराएको तलबमा ७ हजार थप गरि १५ हजार पुर्याएको समेत बताए ।

 त्यस्तै कोइलाबास र कोठरीमा नेपाल टेलिकमका टावर निर्माण भएको र आवश्यक स्थानहरुका मनिकापुर–कक्रहवा र खबरीनाकाका लागी टेलीकम टावर निर्माणमा समन्वय भै उनको भनाइ थियो ।  गढवाको स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टर राखि सेवा संचालन गरिएको र सबै स्वास्थ्यचौकीमा ल्याव सहित २४ घण्टे प्रसुति सेवा र सुत्केरीहरुलाई निःशुल्क एमबुलेन्स सेवा सुचारु गरिएको उनले बताए । नेपाल सरकारले प्रदान गर्दै आएको सुत्केरी पोषण भत्तालाई स्थानीय सरकारले ३१ सय थप गरि ४ हजार ९ सय पुर्याएको समेत बताए । त्यस्तै कोइलाबासमा आँखा अस्पताल र भ्युटावर निर्माण भै संचालनमा आएका र मुसीनाका र खबरी नाकामा बिओपि भवन निर्माण संगै त्यहाँ पुग्ने सडकका  ट्रयाक  समेत खोलिएका उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार