टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि नाप जाँच सुरु 

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २५ गते मङ्गलवार

 

दाङ :  दाङको तुलसीपुरमा रहेको टरिगाउँ स्थित विमानस्थलको धावनमार्ग थप विस्तारका लागि नागरिक स्तरबाट स्थलगत नाप जाँच सुरु भएको छ । तुलसीपुरमा रहेको हालको विमान स्थलको धावनमार्गको हालको ७ सय ५० मिटर लम्बाइलाई बढाएर कम्तिमा १३ सय मिटर पु-याउ  सकेमा ठूला जहाज पनि अवतरण हुन सक्ने भन्दै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा स्थलगत नाप जाँच सुरु गरिएको हो ।

तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा मंगलबार तुलसीपुरको टरिगाउँ विमानस्थलमै पुगेर सर्वपक्षीय र सर्वदलीय टोलीले धावनमार्गको नाप जाँच सुरु गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीसहितको टोलीले  विमानस्थलको धावनमार्गको उत्तर – दक्षिण क्षेत्रको लम्बाइ फित्ता लगेर नाप जाँच गरेका थिए ।

‘यो प्रारम्भिक अनुमानका लागि भएको नाप जाँच हो, अहिलेकै लोकेसन पनि धावनमार्ग विस्तार हुने प्रशस्तै सम्भावना छ, अनि अन्य लोकेसन पनि विकल्प देखिएको छ’, धावनमार्ग नाप जाँचमा सहभागी इन्जिनियर योगीले भने । दुवै विकल्पमा नापजाँच गर्दा कम्तिमा ४२ सिट जहाजलाई अवतरण गर्नका लागि आवश्यक १३ सय मिटर लम्बाइको धावनमार्ग निर्माण हुन ठूलो धनराशी खर्च गर्नु नपर्ने पनि उनको भनाइ थियो ।

चालु धावनमार्गलाई लोकेसन परिवर्तन गरेमा चिरो भाट्न समेत नपर्ने नापजाँचका सहभागीहरूले बताएका छन् । यद्यपि यसको अन्तिम प्राविधिक प्रतिवेदन भने एयरपोर्ट डिपिआरको अध्ययनपछि टुंगो लाग्ने इन्जिनियर योगीले बताएका छन् । यदि चिरो भाट्नै पर्ने अवस्थामा पनि स्थानीय सरकार र यहाँका सरोकारवालाहरूले सहयोग गरे बाँकी काम संघीय सरकारको बजेटले सहजै हुन सक्ने पनि उनको भनाइ थियो ।

‘अब हामी एयरपोर्टको स्तरोन्नतिको मार्गमा अघि बढिसकेका छौं। स्थलगत अध्ययनको प्रतिवेदनसहित हामी केही दिनभित्रै नागरिक उड्यन तथा पर्यटन मन्त्रालय र अर्थमन्त्रालयमा डेलिगेसन जाने तयारीमा छौं’, एयरपोर्टको स्तरवृद्धि अगुवाइ गर्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले भने । तुलसीपुरको टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाए होस वा चौडाइ विस्तार गर्न आवश्यक परे सामुदायिक वनको जग्गा उपलब्ध गराउन  सम्पूर्ण उपभोक्ताहरू तयार रहेको तरुण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेषमणि भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार