घोराहीमा पालिकास्तरीय  खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुँदै

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २५ गते मङ्गलवार

फाइल तस्बिर

दाङ :   नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा  पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता २०७८’ हुने भएको छ । नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा  पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो ।

आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगिताको विजेता टिमले नगद एक लाख ७५ हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

संयोजक आचार्यका अनुसार प्रतियोगितामा उपविजेता हुने टिमले नगद ८७ हजार ५ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका दश वटा स्थानीय तहबाट एक/एक भलिबल टिमले सहभागिता जनाउन पाउनेछन् । साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयाँ पुरस्कार समेत व्यवस्था गरिएको छ ।

उनले खेल क्षेत्रको विकाससँगै प्रतियोगितालाई थप आकर्षक बनाउनका लागि पालिकाहरूले दश सदस्यीय भलिबल टिममा दुई जना राष्ट्रियस्तरका खेलाडीहरूलाई बाहिरबाट ल्याएर सहभागी गराउन पाउने व्यवस्था गरिएको बताए ।

प्रतियोगितालाई भव्य बनाउनका लागि स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको मंगलबार घोराहीमा बसेको बैठकले प्रचारप्रसार, खेल फिल्ड व्यवस्थापन, खेलकुद सामग्री तथा प्राविधिक सहयोग विभिन्न उपसमितिहरू समेत गठन गरेको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार