दाङमा करोडौँ काँचो इँटामा क्षति ( फोटो फिचर )

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २३ गते आइतवार


दाङ : तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको शिव शक्ति इँटा उद्योग केही दिनको बेमौसमी वर्षाका कारण करोडौँको क्षति पुगेको छ । भट्टा पकाउनको लागि तयार भएका इँटाहरू नोक्सान हुँदा करिब डेढ करोडको क्षति भएको उद्योगका मेनेजर प्रेम बस्नेतले बताए । उनले भने,‘ अहिलेको समय इँटाहरू उत्पादन हुने हो । तर, पटक पटकको बेमौसमी पानीका कारण उद्योगमा तयार भएका काँचो इँटाहरू नोक्सान भए । जसले गर्दा हामीलाई करोडौँको क्षति पुगेको छ ।’

उनका अनुसार एउटा काँचो इँटा तयार गर्नको लागि कम्तिमा १० रुपैयाँसम्म खर्च हुन्छ । जग्गा भाडा, गाडी भाडा र स्टाफ खर्च गरी त्यति खर्च हुने हुनेको भनाइ थियो । त्यस्तै उनले आफूहरूले यस्तो समस्या अहिले मात्र नभइ वर्षौँदेखि भोग्दै आइरहेको समेत बताए । राज्यले आफूहरूको समस्या समाधान गर्नको लागि काँचो इँटाको बिमा नीति बनाइदिनु पर्ने उनको माग छ । शिव शक्ति इँटा उद्योग मात्र नभइ जिल्लामा ३५ वटा उद्योगहरू रहेका छन् ।

बेमौसमी पानीका कारण सबै इँटा उद्योगमा लाखौँ काँचो इँटा नष्ट भएका छन् । त्यस्तै घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको गोल्ड ब्रेक इन्डस्ट्रिज इँटा उद्योगमा पनि करिब १५ लाख काँचो इँटामा नष्ट भएको उद्योग सञ्चालन रोम वलीले बताए ।

उनका अनुसार पटक पटकको वर्षाका कारण करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । उनले भने,‘ हामीले यो समस्या पटक पटक भोग्दै आएका छौँ । काँचो इँटाको बिमा बनाउनको लागि केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्दै आएका छौँ । तर, अहिलेसम्म हाम्रो सुनुवाइ भएको छैन् । हामी खुला आकाश मुनी काम गर्ने व्यवसायी हौँ । हामीले प्रत्येक वर्ष बेमौसमी पानीका कारण करोडौँको नोक्सानी भोग्दै आएका छौँ ।’

त्यस्तै तुलसीपुर उपमहानगरपालिका १८ मा रहेका जय श्री हनुमान इँटा उद्योगमा पनि पानीका कारण करिब ११ लाख काँचो इँटा नष्ट भएको उद्योगका सञ्चालक लाल विक्रम बूढाले बताए । उनले उद्योगमा तयार भएका इँटालाई नष्ट हुनबाट बचाउन धेरै प्रयास गरेको भएयता पनि २–३ दिन सम्मको लगातार वर्षाका कारण नष्ट भएको समेत बताए । उनले भने,‘ काँचो इँटा बनाउँदा देखि पकाउँदा सम्म करिब १५ रुपैयाँ पर्ने जान्छ । काँचो इँटा मात्र १० रुपैयाँ पर्छ, भने कोइलालाई करिब ५ रुपैयाँ पर्छ । तर, पानीका कारण हामीले धेरै नोक्सानी व्यहोर्दै आएका छौँ । त्यसमा पनि व्यवसायी बिच प्रतिस्पर्धा हुँदा अझ समस्या हुने गर्दछ ।’

भएकाले यो माटोलाई अन्य ठाउँमा लगेर राख्ने र त्यसलाई अर्को वर्ष प्रयोग गर्न मिल्ने पनि बताए । त्यस्तै उनले आफूहरू कोरोना महामारीका कारण गत २ वर्षमा पनि समस्यामा परेको र बेला बेलामा आउने पानीले झनै समस्यामा पार्न भएकाले आफूहरूलाई राज्यले हुने पर्ने बताए । दाङ देउखुरी इँटा व्यवसायी संघ अनुसार जिल्लामा अहिले करिब ३ करोड काँचो इँटा नोक्सानी भएको छ । जिल्लाका ३५ वटा इँटा उद्योग मध्य धेरै उद्योगका इँटाहरू नष्ट भएको संघका अध्यक्ष प्रेमनाथ योगीले बताए । उनका अनुसार पानीका कारण इँटाहरू नष्ट भएपछि केही समय उद्योगहरू बन्द हुने अवस्थामा आएको पनि बताए ।

उनले भने,‘ एउटा उद्योगमा करिब १५ लाख सम्म काँचो इँटाहरूमा क्षति भएको छ । यसले गर्दा धेरै उद्योगहरू बन्द हुने अवस्था आएको छ । एउटा काँचो इँटालाई १० रुपैयाँ पर्छ । १० देखि १५ लाख एउटा उद्योगको इँटामा क्षति हुँदा करिब डेढ करोड रुपैयाँको क्षति भएको छ । त्यस्तै उनले आफूहरूले धेरै पटक राज्यसँग बिमा र कर छुटको लागि पहल गर्दै आएको भएयता पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । उनले राज्यले आफूहरुसँग कर मात्र लिन काम गरेको भन्दै उद्योगहरुलाई राज्यको तर्फबाट हुने कुनै पनि सहयोग नपाएको पनि बताए । यस्तै उनले यस्तै अवस्था आएमा धेरै व्यवसायहरुले यो पेसा छोड्ने पनि बताए ।

वर्षैसाल घाटाका कारण अहिले केही ब्यक्तिहरुले यो व्यवसाय छाडेको पनि उनले बताए । पानीका कारण तयारी अवस्था इँटाहरूमा नोक्सानी भएपछि अब जिल्लामा इँटाको अभाव हुने र मूल्यबृद्धि पनि हुने उनको भनाइ थियो । जिल्लामा नियमित ७० हजार इँटा उत्पादन हुने गरेको भएपनि अब थोरै उद्योग सञ्चालनमा आउँदा जिल्ला इँटाको अभाब हुने सक्ने उनले बताए ।

अहिले प्रत्येक इँटा उद्योगमा करिब ३ सयको हाराहारीमा मजदुर छन् । यदि पारिश्रमिक नपाएमा उनीहरूले पनि काम छोड्ने अबस्था रहने भन्दै उनीहरुलाई तत्काल पारिश्रमिक उपलब्ध गराउनु पर्ने भएयता पनि पानीका कारण इँटा नोक्सानी हुँदा व्यवसायीहरु समेत समस्यामा पर्ने बताए । जिल्लामा अहिले १ नम्बर इँटाको मूल्य १६ रुपैयाँ , २ नम्बर इँटाका मूल्य १२ रुपैयाँ र ३ नम्बर इँटाको मूल्य १० रुपैयाँ कायम गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार