माओवादी केन्द्रद्धारा संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान शुरु

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १९ गते बुधवार

दाङ :  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दाङले संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान शुरु गरेको छ  ।  जस अनुसार पार्टीका सबै पालिका कमिटीहरूले सांगठनिक अभियान शुरु गरेका छन् । अभियान अन्तर्गत  ‘एक टोल एक पार्टी कमिटी‚ एक टोल तीन सेल कमिटी’ कार्यक्रम शुरु गरिएको माओवादी घोराही उपमहानगर अध्यक्ष प्रमोद शर्माले जानकारी दिए  । उनका अनुसार अब सबै वडामा गएर सेल तथा टोल कमिटी गठन गरिने छ । पहिलो चरणको अभियान फागुन १ गते सम्म सञ्चालन हुने छ ।

यसबीचमा घोराहीमा मात्रै २० हजार साधारण सदस्यता वितरण गरिने छ । त्यसैगरी गाउँ तथा टोल भेला गर्ने‚  जबस मोर्चाका नगर तथा वडा भेला र बैठक गर्ने कार्यक्रम रहेको छ । एक वडा एक सय युवा परिचालन अभियान सञ्चालन गरिने शर्माले जानकारी दिए । ‘पहिलो चरणको अभियान फागुन १ गते जनयुद्ध दिवस मनाएर सम्पन्न हुने छ  । जनयुद्ध दिवस मनाइसकेपछि थप कार्यक्रमहरू तय हुने छन्,’ उनले भने,‘ राष्ट्रिय स्वाधीनता र जनताको पक्षमा माओवादीले दृढ अडान ल्याएकोले जनताका लहर निकै देखिएको छ ।’

माओवादी घोराहीले पार्टीलाई व्यवस्थित गर्न सांगठनिक कामहरू समेत शुरु गरिएको छ । संगठनको बैठक बसेर १२ ओटा विभागहरू समेत गठन गरिएको छ । त्यसैगरी नगर सदस्यहरूको जिम्मेवारी समेत तोकिएको छ । जन वर्गीय सङ्गठनहरूको इन्चार्ज समेत तोकिएको छ । बैठकमा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ ले नेपालमा वास्तविक कम्युनिष्ट पार्टी माओवादी मात्र भएकाले जनताको समर्थन माओवादीलाई नै हुने बताए  ।

अहिले देशी विदेशी शक्ति केन्द्रहरू नेपालबाट कम्युनिष्ट पार्टी समाप्त पार्न चाहन्छन्‚’ उनले भने,‘ केपी ओली अहिले नेपालबाट कम्युनिष्ट पार्टी समाप्त पार्ने अभियानमा हुनुहुन्छ ।’ मुलुकमा गणतन्त्र‚ संघीयता‚ धर्मनिरपेक्षता र समानुपातिक समावेशीको एजेण्डा माओवादीको भएकाले यसको रक्षाका लागि जनताले साथ दिने विश्वास व्यक्त गरे ।

पार्टीका अर्का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमन्ड’ ले माओवादीप्रति जनसमर्थन बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा माओवादीलाई जनताको व्यापक समर्थन हुने बताए । उनले माओवादीलाई एक्ल्याउन विभिन्न षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई  चिर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार