चुनढुङगा उत्खननको अनुमति रोक्न तुलसीपुर खानेपानीद्धारा माग

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १४ गते शुक्रवार

 दाङ :   तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले चुनढुङ्गा उत्खनन अनुमति रोक्का गरिदिन सम्बन्धित निकायसँग माग गरेको छ । संस्थाले खानी तथा भूगर्भ विभाग लैनचौर काठमाण्डौका महानिर्देशकलाई सम्बोधन गर्दै राप्ती राजमार्ग  अन्तर्गत चुनढुङ्गा उत्खननको अनुमति नदिन अनुरोध गरेको छ ।

राप्ती राजमार्ग  अन्तर्गत  सडकसँग जोडिएको तुलसीपुर ३ र ४ का विभिन्न स्थानबाट खानेपानी पानीका मुहान ल्याइएकाले चुनढुङ्गा उत्खननले ती पानीका मुहानलाई असर गर्ने भएकाले त्यस क्षेत्रमा रोक लगाउनु पर्ने संस्थाले माग गरेको छ ।

त्यस क्षेत्रमा उत्खनन कार्य बन्द गर्नका लागी यस अघि पनि पटकपटक आग्रह गरिएको र अहिले सुनगाभा माइनिङ प्रालिलाई अनुमति दिने अन्तिम तयारी भएको भन्दै संस्थाले रोक्न माग गरेको छ । चुनढुङ्गा उत्खननले राप्ती राजमार्गसँग जोडिएका राम्री, धैरेनी, पहरे, छरछरे र मुलकोट पानी मुहानमा असर गर्ने संस्थाले बताएको छ ।

खानेपानी जस्तो संवेदनशिल क्षेत्र भएको र तुलसीपुर क्षेत्रका ७० हजार उपभोक्ताहरूसँग जोडिएको विषय भएकाले त्यस क्षेत्रमा उत्खननका लागी प्रालिलाई लाइसेन्स दिन नहुने संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताए ।

२०२८ साल देखी त्यस क्षेत्रबाट पानीको मुहान प्रयोग गरी तुलसीपुर क्षेत्रका नागरिकहरूले खानेपानी प्रयोग गरिरहेकोमा उत्खनन हुँदा भविष्यमा पानीको हाहाकार हुने उनले बताए ।  आफूहरूको मागलाई सम्बोधन नगरे यसबाट उत्पन्न हुने परिस्थितिको स्वयंले ब्यहोर्नु पर्ने चेतावनी संस्थाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार