तुलसीपुरमा ४ वर्षलाई प्रक्षेपण गरेर  राजश्व सुधार कार्ययोजना तयार 

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ६ गते बिहिवार

दाङ :  तुलसीपुर उपमहानगरपालिकाले राजश्व सुधार कार्ययोजना गरिएको छ । राजश्व विज्ञको परामर्शमा ४ वर्षलाई प्रक्षेपण गरेर तयार पारिएको पुस्तक एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो । 

राजश्व परिचालन क्षमताका आधारमा स्रोतहरूको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र उपमहानगरपालिकाको राजश्व प्रशासनको समष्टिगत विश्लेषण गरी सुधारका उपायहरू पहिचान गर्दै राजस्वमा अभिवृद्धि गर्ने उद्देश्यले  राजश्व सुधार कार्ययोजनाको नीति अघि सारिएको तुलसीपुर उपमहानगरपालिका राजश्व शाखा प्रमुख भेषराज चन्दले बताए । 

कार्ययोजनालाई टेकेर अघि बढेमा आर्थिक वर्ष २०८१/८२ मा २ अरब ६२ करोड, ३० लाख २३ हजार बढी राजश्व संकलन गर्न सकिने प्रक्षेपण गरिएकाले अत्यन्तै वैज्ञानिक र व्यवहारिक समेत भएको उनले बताए ।   चालु आर्थिक ०७८/०७९ मा ६० करोड राजश्व सङ्कलनको लक्ष्य लिएको उपमहानगरपालिकामा पुष मसान्त सम्म ११ करोड मात्र संकलन भएको छ ।

सुधार कार्ययोजनामा करका क्षेत्र, उपमहानगरमा राजश्व  असुलीको वर्तमान अवस्था, राजश्व परिचालनका सन्दर्भमा विद्यमान नीति र संस्थागत संरचना,  जनशक्ति, विगतको राजश्व (आय ) परिचालन अवस्था, उपमहानगरपालिकाको राजश्वको सम्भाव्यता, वर्तमान आन्तरिक आयका आधार, दर र प्रशासकीय संरचनाको जिम्मेवारी समेत स्पष्ट हुने गरी विश्लेषण गरिएको छ ।

त्यस्तै लक्ष्य अनुसार राजश्व सङ्कलनका लागि अध्यक्ष र वडा सचिवहरूको तत्परता आवश्यक हुने मेयर घनश्याम पाण्डेले बताए । राजश्व चुहावट हुँदा विकास निर्माणका कामहरू प्रभावित हुने भन्दै लक्ष्य अनुसार अघि बढ्न समेत  आग्रह गरे  ।

त्यसैगरी  उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वलीले उपमहानगरपालिकाको प्रयासले मात्रै सम्भव नहुने भएकाले राजश्व वृद्धिका लागि सबै वडाहरू जिम्मेवारी बोधका साथ लाग्नु पर्ने बताए ।

त्यस्तै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती र तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव  विनिल केसीले कर असुली मात्रै भन्दा पनि करको दायरा फराकिलो बनाउने योजनाका साथ अघि बढ्न पर्ने भन्दै कर निर्धारण गर्दा व्यवसायीहरूसँग पनि छलफल गर्नुपर्ने बताए  ।

उनीहरूले विज्ञापन कर र सरसफाइ कर व्यवसायीसँग समन्वय नगरेर ल्याएको भन्दै यसलाई पुर्न बिचार गर्न माग गरे । तुलसीपुर उपमहानगरपालिका उप प्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा  पुस्तक तयार  गर्नका लागि सहयोग गर्ने साझेदारी संस्था यूएसए आइडी– संघीयता सहयोग कार्यक्रमका तुलसीपुर प्रतिनिधि विश्वमणि  खनालले नगर प्रमुख घनश्याम पाण्डेलाई  राजश्व सुधार कार्ययोजना पुस्तक हस्तान्तरण गरेका थिए ।  । सो अवसरमा १९ वडाका वडा अध्यक्ष, महासचिव लगायतको सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार