झोलुंगे पुलले गाउँ र शहरलाई जोड्ने छ : शर्मा

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ३ गते सोमवार


दाङ :  मसोट खोला स्थित वर्सेवा घाटमा निर्माण भएको झोलुंगे पुलको सोमवार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले पुलको उद्घाटन गरेका हुन् ।  पुल उद्घाटन कार्यक्रममा बोल्दै उनले गाउँ र शहरलाई जोड्ने भएकाले सुविधा उपभोगमा सहज हुने बताए  ।

‘निश्चय पनि यहाँको समस्याहरू केही हद सम्म कम गर्न यो पुलले मद्दत गर्ने छ,‘ उनले भने,‘ वर्षामा भोग्नुपर्ने समस्याहरू यो पुलले पक्कै पनि कम गर्ने छ ।’  उपभोक्ता समितिका अध्यक्ष अमित बुढामगरको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई घोराही उपमहानगरपालिका ३ का वडाध्यक्ष माधव चौधरीले सम्बोधन गर्दै वडा कार्यालय र उपमहानगरपालिकाबाट मसोट क्षेत्रको विकासको लागी ध्यान दिइएको बताए । 

त्यस्तै कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ का इन्चार्ज नारायण डिसी छम्पालीले विकास नपुगेका खोला तथा नाका क्षेत्रमा प्राथमिकताका साथ योजनाहरू परेको र कार्यान्वयन गरिएको बताए । त्यस्तै सेवा प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय दाङका प्राविधिक दिपेश गौतमले चालु आर्थिक वर्षमा जिल्लाका  १० स्थानीय तहमा १५ वटा झोलुंगे पुल निर्माण कार्य भइरहेको जानकारी दिए ।

  स्थानीय सरकार, दातृ निकाय तथा सेवा प्रतिष्ठान नेपालको साझेदारीमा झोलुंगे पुल निर्माण भैरहेको समेत उनले बताए ।  राप्ती गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकामा एक /  एक वटा झोलुंगे पुल बन्दै छन् । गढवा गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका, बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकामा २/ २ वटा झोलुंगे पुल निर्माण भैरहेका छन् । प्रतिष्ठानले दाङ लगायत पहाडी जिल्ला पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा , प्युठानमा सयौँको सङ्ख्यामा  झोलुंगे पुल निर्माण गरिसकेको जनाएको छ ।  त्यस्तै सेवा प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि समेत काम गरेको प्रतिष्ठानका कार्यक्रम संयोजक प्रकाश केसी बताए ।   

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार