दाङ : केही दिन यता तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा कोरोना संक्रमण बढेपछि आइतबारदेखि माघ ३ गते सम्मको लागि विद्यालय बन्द गरिएको छ । शुक्रबार तुलसीपुरमा बसेको सरोकारवालाहरूको बैठकले माघ ३ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत चक्र बहादुर भण्डारीले बताए । उनले भने,‘ केही दिन यता तुलसीपुरमा कोरोना महामारी तीब्र रुपमा फैलिएको अवस्था रहेको छ । त्यसमा पनि विद्यालयमा बढि देखिएको छ ।
तुलसीपुरका ४ वटा विद्यालयका ४० जना विद्यार्थीहरू संक्रमित भएका छन् । यो अवस्थामा विद्यालय बन्द गर्नुको विकल्प नभएपछि सामुदायिक र संस्थागत विद्यालयहरू आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठन पाठन बन्द गर्ने निर्णय गरिएको छ । ’ त्यस्तै उनले विद्यालयमा भौतिक रुपमा उपस्थित नभए पनि सिकाइ सहजिकरण गर्नको लागि अनलाइन कक्षाहरु सञ्चालन गर्न निर्णय भएको समेत बताए । सामुदायिक विद्यालयमा कोरोना सङ्क्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
त्यस्तै उनले विद्यालयमा कोरोना संक्रमण फैलिनुको कारण स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गर्दा हुन सक्ने समेत बताए । त्यस्तै पछिल्लो समय तुलसीपुरमा विभिन्न मेला महोत्सव तथा अन्य कार्यक्रमहरू हुँदा समेत प्रभाव परेको हुनसक्ने उनको भनाइ छ । तुलसीपुर उपमहानगरमा ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयहरूको महाशाखाले जनाएको छ । केही समय अगाडि तुलसीपुरमा कोरोना सङ्क्रमणको अवस्था शून्य रहेकोमा विगत ४ दिन यता ८२ जनामा कोरोना संक्रमण भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले बताए ।
उनका अनुसार विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत आम नागरिकहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । ४० जना विद्यार्थी, १२ जना शिक्षक, १३ जना भन्दा बढि स्वास्थ्यकर्मी, जनप्रतिनिधि एक जना र अन्य आम नागरिकहरूमा कोरोना पुष्टि भएको उनले बताए । त्यस्तै उनले अहिले कोरोना पुष्टि भएकाहरूलाई ज्वरो, रुघाखोकी, घाटी दुख्ने लगायतका समस्या देखिएकाले कुन भेरियन्ट हो, त्यो थाहा नभएको समेत बताए । त्यस्तै भेरियन्ट पत्ता लगाउनको लागि स्वाब काठमाडौँ पठाएको समेत उनको भनाइ छ ।
तुलसीपुरमा सबै भन्दा पहिले मावि अश्वाराका विद्यार्थीलाई कोरोना पुष्टि भएको छ । अहिले उक्त विद्यालय बन्द भएको छ । तर, विद्यालय नजिकका स्थानीहरू भने त्रासमा देखिन्छ । तुलसीपुर ८ अश्वाराकी शारदा सेनले विद्यालयमा कोरोना संक्रमण भएपछि आफूहरूलाई डर लागेको बताइन् । उनले भनिन्,‘ विद्यालयमा कोरोना फैलिएपछि बन्द भएको छ । तर, हामीहरूलाई अझै डर लागेको छ । पछिल्लो समय लापरबाहीका कारण यसरी कोरोना फैलिएको हो । कोरोना महामारीमा पनि पार्टीका कार्यक्रम, मेला महोत्सव लगाउनु गलत हो ।
अहिले कतै स्वास्थ्य मापदण्ड पालना गरेको पाइदैन् ।’ त्यस्तै उनले आफूहरूले कोरोना विरुद्धको खोप लगाएका कारण पनि केही प्रतिशत ढुक्क रहने अवस्था भएको बताइन् । ठूला व्यक्तिहरूले खोप लगाएको भएयता पनि साना बालबालिकाहरूले खोप नलगाउँदा उनीहरु जोखिम हुन सक्ने भन्दै चिन्ता व्यक्ति गरिन् ।
त्यस्तै मावि अश्वाराका शिक्षक नवीन सिंह ठकुरीले विद्यालयमा एक जना विद्यार्थीलाई शुरुमा कोरोना पुष्टि भएपछि आफूहरू त्रसित बनेको बताए । उनले विद्यालयका सबै विद्यार्थी र शिक्षकहरूले कोरोना चेक गरेपछि आफूलाई नभएको भएयता पनि मनमा त्रास रहेको बताए । ५ जना शिक्षक र ६ जना विद्यार्थीहरूलाई कोरोना पुष्टि भएको उनले बताए ।
उनले भने,‘ विद्यालयका एक जना विद्यार्थी पोखरा तालिमको लागि गएका थिए । उनी पोखराबाट फर्किएपछि विरामी भए । कोरोना जाँच गर्दा पुष्टि भयो । विद्यालयमा विद्यार्थीहरू पनि मास्क नलगाएर आउने र धेरै विद्यार्थीहरू हुँदा पनि संक्रमण फैलिएको हुनसक्छ । ’ त्यस्तै उनले पछिल्लो समय तेस्रो भेरियन्टको त्रास भइरहेको अवस्थामा विभिन्न पार्टी तथा संघसंस्थाहरुको भिडभाड गर्ने काम गर्दा पनि कोरोना फैलिरहेको भन्दै यस्तो अवस्थामा खाल नगर्नु दुर्भाग्य पूण कुरा भएको बताए ।