तुलसीपुरमा विद्यार्थी देखि स्वास्थ्यकर्मीमा पनि कोरोना देखियो

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २१ गते बुधवार

दाङ :  केही दिन यता तुलसीपुरमा कोरोना सङ्क्रमितहरूको दर बढ्दै गएको छ । बुधबार, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक र अन्य गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए । तुलसीपुरको मेट्रो अस्पतालमा एन्टिजेन विधिबाट २९ जनाको परिक्षण गर्दा ४ जना स्वास्थ्यकर्मी, ३ जना विद्यार्थी, एक जना शिक्षक, एक जना भारतबाट आएका र अन्य तुलसीपुरका विभिन्न वडा ५ जना व्यक्ति गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

त्यस्तै बुधबार कोरोना संक्रमित हुने विद्यार्थीहरू २ जना राप्ती बाल एकेडेमीका रहेको र उनीहरूलाई होम आइसोलेसन राखिएको उनले बताए । त्यस्तै ४ जना स्वास्थ्यकर्मीहरू तुलसीपुर मेट्रो अस्पतालका रहेको र उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए ।

हाल सम्म कोरोना संक्रमित हुनेहरू मध्य ११ जना खोप नलगाएका बालिका र अन्य २८ जना खोप लगाएका रहेका छन् । योसँगै तुलसीपुरमा अहिले ३९ जनामा कोरोना पुष्टि भएको छ । यसअघि तुलसीपुर उपमहानगरपालिका ८ स्थित आश्वरा माविका शिक्षक र विद्यार्थी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विद्यार्थी र शिक्षकलाई कोरोना पुष्टि भएपछि एक हप्ताको लागि विद्यालय बन्द गरिएको छ । कोरोना संक्रमित मध्ये २ जना कोरोना इकाई तुलसीपुरमा भर्ना गरिएको छ भने , अन्य ३६ जना होम आइसोलेसनमा रहेको उनले जानकारी दिए । संक्रमित हुनेहरूमा सामान्य ज्वरो, घाँटी दुख्ने ,शरीर दुख्ने , निल्न गाह्रो हुने ,रुघा ,खोकी जस्ता लक्षणहरू देखिएको फोकल पर्सन केसीले जानकारी दिए ।

त्यस्तै उनले अहिले कोरोना संक्रमण समुदायमा नै देखिन थालेपछि ओमिक्रोनको आशंका लागेकोले परीक्षणका लागि बिहीबार नमूना संकलन गरेर काठमाडौँ पठाउन लागेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार