औषधी व्यवसाय मर्यादित र विश्वसनीय हुनुपर्छ 

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ११ गते आइतवार


दाङ : घोराही उपमहानगरपालिकाका मेयर  नरुलाल चौधरीले नागरिकको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको औषधि व्यवसायलाई थप मर्यादित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए ।  नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा दाङ तथा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा शनिवार घोराहीमा औषधी पसल सञ्चालन आचार संहिता कार्यान्वयन विषयक एकदिने तालिमको उद्घाटन सत्रमा बोल्दै उनले व्यवसायलाई थप मर्यादित बनाउन व्यवसायीहरू नै गम्भीर हुनुपर्ने बताए ।

उनले नागरिकको पहिलो डाक्टर औषधि व्यवसायी नै भएको उल्लेख गर्दै चौधरीले सोही अनुसारको जिम्मेवारी बहन गर्न औषधि व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सानो कमजोरीले बिरामीको ज्यान तलमाथि हुने अवस्था आउने भन्दै गुणस्तरीय सेवा र सरकारी मापदण्डलाई पालना गर्न सुझाव दिए । 

सो अवसरमा बोल्दै विशिष्ट अतिथि एवं औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठले औषधि व्यवसायीहरूलाई औषधि बिक्री वितरण संहिताको पालना गर्न आग्रह गरिन् । औषधि बिक्रीवितरण संहिता पुरानो भएकाले परिवर्तनको प्रक्रिया थाली सकिएको उल्लेख गर्दै व्यवसायलाई व्यवस्थित, मर्यादित तथा विश्वसनीय बनाउन संहिताको पालनामा जोड दिए  ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाही लगायतले शुभकामना व्यक्त गरे ।  औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज बाँकेले समन्वय गरेको कार्यक्रममा दाङ जिल्लाका एक सय पचासी जना मेडिकल सञ्चालकहरूको सहभागिता थियो । 

नेपाल औषधी व्यवसायी संघ दाङ शाखाका सचिव सुनिल रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा  नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।  औषधी व्यवसायी संघका जिल्ला शाखा दाङका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव तुफान बाबु श्रेष्ठले गरेका थिए । 

 कार्यक्रमको तालिम सेसनमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले भर्चुअल मार्फत औषधी पसल सञ्चालन गर्दा नेपाल सरकार औषधी व्यवस्था विभागले जारी गरेको आचार संहितालाई अक्षरंश पालना गरी कुशल औषधी वितरण अभ्यास  ( जिपीपी ) लाई पूर्ण रूपले पालना गरी व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीहरूलाई अनुरोध गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

व्यवसायीहरूलाई औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठ, फार्मेसी अधिकृत धनबहादुर बोहरा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक झविन्द्र परियारले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार