सल्यान : राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ। राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोरखोलामा सडक स्तरोन्नती गर्न दैनिक तीन पटक गरेर ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।
पुस ११ गतेदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने र स्तरोन्नतीको काम हुने सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। उनका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ।
यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने खड्काको भनाइ छ। यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो।