लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाउनेहरूलाई ध्वस्त पार्न मैदान निस्केका छौँ : अध्यक्ष लिङदेन

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ८ गते बिहिवार


दाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ( राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन लोकतन्त्रका नाममा ३० वर्षदेखि लुटतन्त्र मच्चाउनेहरूलाई ध्वस्त पार्न आफू मैदानमा निस्किएको बताए । बिहीबार दाङको तुलसीपुरमा राप्रपाले आयोजना गरेको अभिनन्दन तथा वृहत आमसभालाई सम्बोधन उनले राप्रपा लोकतन्त्र र जनताको सर्वोच्चतामा पूर्णरुपमा विश्वास गर्ने पार्टी भएको समेत दाबी गरे ।

उनले लोकतन्त्रमा कांग्रेस, कम्युनिष्टहरूले लुटतन्त्र मच्चाएको भन्दै आफूहरू त्यसको विरोधी भएको र त्यसलाई पूर्णरुपमा ध्वस्त पार्न प्रष्ट पारे । उनले ठूला पार्टीहरूले एउटा सिन्डिकेट बनाएर देशलाई लुटिरहेको समेत बताए । त्यसैगरी उनले ३०–३१ वर्षसम्म पनि देशका ठूला पार्टी र ठूला पार्टीका ठुलो नेताहरू हुँ ? भन्ने मानिसहरूले देश र जनताको लागि केही गर्न नसकेर राजाको विरोध गर्ने गरेको आरोप लगाए ।

उनले राजाको विरोध गरेर राजनीति गर्नेहरूका दिन गएको समेत प्रष्ट पारे । त्यस्तै उनले देश कांग्रेस, कम्युनिष्टहरूको बन्धक बनेको समेत आरोप लगाए । उनले भने ,‘ तपाईँहरू भन्दा ठुलो साँची को हुन सक्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भएपनि तिनै मानिसहरू, तिनै अनुहारहरू घुमिरहेका छन् । हरेक भष्ट्राचार काण्डमा एउटा दल, एउटा सरकार मुछिने गर्दछन् ।’

यसैगरी उनले जनता कुनै पनि पार्टीको गोठको गाईबस्तु नभएको भन्दै आफ्नो जीवन कालमा देशको परिवर्तन देख्न चाहनेहरू राष्ट्रिय शक्ति निर्माणमा जुटेको राप्रपा पार्टीमा आउन आग्रह गरे । उनले भने,‘ यो देश बिग्रिएमा शेर बहादुर, केपी, प्रचण्डको केही बिग्रिदैन । हामी युवाहरूको भविष्य बिग्रिन्छ । त्यसैले हाम्रो अभियानमा साथ दिनुहोस् । हामी तपाईँहरूलाई कहिँले धोका दिने छैनौँ ।’

अध्यक्ष लिङदेनले आज लोकतन्त्र र गणतन्त्रको नाममा देशलाई सिक्किम जस्तै बताउन लागेको समेत आरोप लगाए । उनले भने,‘ हामीले राजा र हिन्दु राष्ट्रको कुरा गर्दा हामीलाई प्रतिगमनकारी कुरा हो ? भन्ने मानिसहरू छन् । २०३२ सालमा हाम्रा छिमेकमा सिक्किम भन्ने देश थियो । तर, आज पनि सिक्किमको भूगोल जहाँको त्यही छ । नाम पनि त्यही छ । तर, सिक्किम भन्ने देश छैन् । ’  सिक्किममा राजसंस्थाको अन्त्य हुँदा सिक्किम भन्ने देशको पनि अन्त्य भएको र त्यही खतरा देखेर आफूहरूले नेपालमा राजसंस्था चाहिन्छ, भनेर भन्ने गरेको उनको भनाइ थियो । ‘

आज हिन्दु राष्ट्रको कुरा गर्दा म जन्मले लिम्बुको छोरा हुँ,’ उनले भने,‘ किरात धर्ममा विश्वास राख्छु । मेरो धर्मको महलमा किरात धर्म लेख्छु । तर, म हिन्दु राष्ट्र हुनुपर्छ भनेर हिँडेको छु । यसमा मेरो कुनै स्वार्थ छैन् ।’ यसैगरी उनले अहिलेको व्यवस्थामा सुधार गर्नु पर्ने धारणा व्यक्त गरे ।

उनले राष्ट्र प्रमुखको रुपमा राजसंस्था र जनताले सीधैं निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र संसद पूर्ण समानुपातिक र सांसदले मन्त्री हुन नपाउँने ब्यवस्था लागू गर्नु पर्ने जोड दिए । त्यस्तै देशले दिने सेवा सुविधा जातको आधारमा नभइ गरिवले पाउँनु पर्ने र संबैधानिक अंगहरुमा नियुक्त योग्यता र क्षमतामा आधारमा हुनु पर्ने व्यवस्थाका साथ नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार