दाङ : तुलसीपुरका दुई सहकारीबीच एकीकरण ( मर्ज ) भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बिच एकीकरण भएको हो ।
तुलसीपुर ७ मा रहेको हाम्रो पहुँच र तुलसीपुर १७ मा रहेको सप्तरंगी सहकारी शुक्रबार औपचारिक रूपमा एकीकरण भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ६ को उपदफा १ बमोजिम दुई सहकारी बिच एकीकरण भएको प्रमाणपत्र नगरप्रमुख घनश्याम पाण्डेले हस्तान्तरण गरे ।
नगरप्रमुख पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको सहकारी मर्जको नीति अनुरूप नै तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक हाम्रो पहुँच र सप्तरंगी एकीकरण भएको बताए ।
एकीकरण पछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए ।
दुई सहकारी मर्जलाई अन्तिम रूप दिन दुवै सहकारीको प्रक्रिया गत वर्षदेखि नै शुरु भएपनि तुलसीपुर उपमहानगरपालिकामा एकीकरण सम्बन्धी कानुन निर्माणमा ढिलाई भएका कारण केही ढिला गरी एकीकरण भएको उनले बताए ।
उनले छरिएर रहेका सहकारीलाई मर्ज गर्ने सरकारको नीति अनुरूप तुलसीपुरमा पहिलो पटक दुई सहकारी एकीकरण भएको बताए । एउटै उद्देश्य भएका सहकारी संस्थासँग एकीकरणको अभियानलाई निरन्तर अगाडि लैजाने उनको भनाई छ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष विजय सुवेदीले दुवै सहकारीको एकीकरणपछि वासलात १५ करोड पुगेको बताए ।
दुई सहकारीको एकीकरणपछि करिब २ हजार ५ सय शेयर सदस्य पुगेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए ।
तुलसीपुर १८ दुधरासमा एकीकरण पछिको पहिलो सेवा केन्द्र छिट्टै सञ्चालन हुने उनले बताए ।