व्यवसायीबीच एकता हुन आवश्यक : अध्यक्ष तिमिल्सिना

Author Logo..
अनलाइन राप्ती २०७८ पुष १ गते बिहिवार

दाङ :  राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले महोत्सव लगाउँदा उद्योगी, व्यवसायीबीच एकता हुन आवश्यक रहेको बताए  । बिहीबार तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि तुलसीपुरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै यस्तो बताए ।

‘खास व्यवसायीहरूले लगाउने महोत्सवमा व्यवसायीबीच एकता हुनुपर्थ्यो, आजको यो महोत्सवमा उद्योग वाणिज्य संघले शुभकामना दिनुपर्थ्यो’, उनले भने‘ तर, यहाँ एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति भयो, यसले व्यवसायीहरूलाई नै घाटा हुन्छ ।’

मेला महोत्सवबाट मुलुक भन्दा बाहिर पैसा जाने गरेको भन्दै अब त्यसलाई अन्त्य गरि नेपालमै राख्ने अवस्थाको सिर्जना गर्नुपर्ने समेत बताए । उनले बरु महोत्सवको माध्यमबाट बाहिरी  देशबाट नेपालमा पैसा भित्रिने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।

साथै उनले दाङ थार समुदायको बाहुल्यता भएको जिल्ला भएको भन्दै थारू संस्कार र संस्कृतिलाई संरक्षणमा ध्यान दिनुपर्ने समेत बताए ।‘दाङमा थारू  संग्राहलय पनि बनेको छ, यो संग्राहलय विदेशी डलर कमाउने माध्यम नबनोस्’, उनले भने‘ यसले यहाँको थारू संस्कार, संस्कृति संरक्षणमा टेवा पुगोस् ।’

अहिले हरेक सामाजिक संघसंस्थाहरूमा पनि राजनीतिक देखा पर्ने भन्दै यसले विकृति समेत मौलाएको उनको भनाई थियो । उनले भाषण भन्दा पनि काममा ध्यान दिन नेताहरूलाई आग्रह गरे ।

‘राजनीतिमा इमान भएन भने त्यसको कुनै काम हुँदैन, हामीले जे बोल्छौँ, त्यो गर्नुपर्छ’, उनले भने‘ त्यो गरेमा मात्रै जनताले स्वीकार गर्छन् ।’

साथै अध्यक्ष तिमिल्सिनाले चारलेन निर्माणको काम छिटो पूरा  गर्नाका  लागि घोराही र तुलसीपुरका मेयरलाई अनुरोध समेत गरेका छन् । महोत्सवमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले मेला महोत्सव लगाउँदा सबैको सहकार्यको आवश्यक रहने बताएका थिए ।

‘ महोत्सवलाई सबैले साथ, सहयोग र प्रोत्साहन दिनुपर्ने संस्कारको विकास हुनुपर्छ’, उनले भने‘ यो कुनै व्यक्ति विशेषको जस र अपजसको कुरा होइन् ।’

महोत्सवमा करिब ५ करोड कारोबार गर्ने लक्ष्य लिइएको छ । पुस १२ गतेसम्म चल्ने महोत्सवमा तीन सय बढि स्टलहरू रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार