तुलसीपुर महोत्सवको पूर्व सन्ध्यामा सरसफाइ

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २९ गते बुधवार


दाङ : तुलसीपुर महोत्सव २०७८ मूल आयोजक समिति तथा तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर बजार सरसफाइ गरेको छ ।  ऐतिहासिक प्रथम महोत्सवको पूर्व सन्ध्यामा तुलसीपुर बजार सरसफाइ गरिएको तुलसीपुर महोत्सवका सञ्चार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । 

तुलसीपुरको बस पार्कबाट सुरु भएको सरसफाइ अभियान तुलसीपुर महोत्सव स्थलमा पुगेर समापन गरिएको थियो ।  सरसफाइ अभियान टोलीले बस पार्कको आपसका क्षेत्र, वीरेन्द्र चोक, विद्युत रोड हुँदै महोत्सव स्थलसम्म तीन ट्याक्टर  फोहर संकलन गरेर व्यवस्थापन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक टोप बहादुर घर्तीले जानकारी दिए ।

  सरसफाइका क्रममा सडेगलेका फलफूलका बोक्रा, प्लास्टिक, चाउचाउ, गुटका, बिस्कुट, लगायतका खोल  अन्य फोहरजन्य वस्तुहरू संकलन गरिएको थियो । सरसराइ अभियानमा तुलसीपुर उपमहानगरपालिका, जनपथ प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, ब्रेफ गोर्खाका ग्रुप र तुलसीपुर चेम्बरका पदाधिकारी लगायतको सहभागिता रहेको चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले जानकारी दिए ।

उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रर्वद्धन र विकास गर्ने उद्देश्यले पुष १ गतेदेखि १२ गतेसम्म ऐतिहासिक प्रथम तुलसीपुर महोत्सव सुरु हुँदै छ । पाँच करोड आर्थिक कारोबार गर्ने तथा ३ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव  तुलसीपुरको घोराही रोडको उत्तर तर्फ खाली चौरमा हुँदै छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार