निर्माण कार्य शुरु भएको २ वर्षपछि शुभारम्भ हुनु दुर्भाग्य : स्थानीय

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २७ गते सोमवार


दाङ : शहीद कृष्णसेन मार्ग अन्तर्गत पर्ने दाङको लमही देखि तुलसीपुर सम्मको सडको अवस्था जीर्ण रहेको छ । करिब २ वर्ष पहिले तुलसीपुर – घोराही चारलेनको बाटो करिब २८ किलोमिटर बन्न लागेको भन्दै दाङवासी निकै खुशी थिए । तर, अहिले सम्म सडक निर्माण नहुँदा एक दर्जन नागरिकले ज्यान गुमाएका छन्, भने दैनिक रुपमा सास्ती भोग्दै आएका छन् ।

सन २०१९ मे महिनामा निर्माण सम्झौता भएको फोर लेन सडक निर्माणको काम सन २०२१ मे अन्त्यमा पुरा गरि सक्नु पर्ने भन्ने छ । तर, निर्माण कम्पनीका स्थानीय प्रतिनिधिको चरम लापरबाहीका कारण २ पटक म्याद थपे पनि कार्यप्रगति निकै निराशा जनक रहेको छ । २ वर्षको अवधिमा जम्मा भौतिक प्रगति ७ प्रतिशत र आर्थिक प्रगति १४ प्रतिशत मात्रै भएको छ ।

जसका कारण नागरिकले सास्ती भोग्दै आएका छन् । सडक निर्माण सकिएला भनेर आशामा बसेका नागरिकहरू भने सडक निर्माणको शुभारम्भ भएपछि दंग परेका छन् । पत्रकार खेमराज रिजालले चारलेन सडक निर्माण कार्यलाई जिल्ला कै गौरवका रुपमा लिएको भएयता पनि २ वर्षसम्म पनि निर्माण नसकिएर फेरि निर्माणको शुभारम्भ हुनु दुर्भाग्य भएको बताए ।

उनले भने,‘ सम्झौता अनुसार २०२१ मे मा सकिनु पर्ने हो । तर, अहिले निर्माण कम्पनी आएर शुभारम्भको ब्यानरमुनि एसपी, सीडीयो, राजनीतिक दलका नेताहरूलाई राखेर कार्यक्रम गर्दा हामीलाई गुमराहमा पारेको जस्तो लागेको छ । ’
त्यस्तै उनले निर्माण कार्यमा सबै भन्दा बढि स्थानीय ठेकेदारहरूले त्रुटि गर्दा नै ढिलाइ भएको समेत बताए ।

‘ कहिँले कोरोनाको बहाना, कहिँले विद्युतको बहाना र कहिँले नदीजन्य बस्तुको बहानाले गर्दा सडक निर्माणमा ढिलाइ भयो,’ उनले भने,‘ तर, नागरिकहरूले भने सडकका कारण अकाल मै ज्यान गुमाए । २ वर्ष सम्म निर्माण गर्नेहरू कानमा तेल हालेर बसे । यसमा नागरिकबाट बाहेक कसैबाट खबरदारी हुन सकेन ।’

त्यस्तै उनले अब निर्माण शुभारम्भ गरेको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट प्रालि मुम्बई भारतले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने समेत बताए । अहिले सम्म कामको सुरुवात नभएको भन्दै उनले एक वर्षमा काम सक्ने गरी काम गर्ने भनेर भर्खरै शुभारम्भ भएयता पनि आफूहरू विश्वस्त नरहेको समेत बताए ।

२ वर्ष सम्म भौतिक प्रगति ७ प्रतिशत र आर्थिक प्रगति १४ प्रतिशत मात्र भएको सडकको कसरी ३६५ दिनमा काम पुरा होला भन्दै उनले प्रश्न गरे ? तथ्य इन्जिनियरिङले सडक निर्माणको ठेक्का पाएपनि उसको तर्फबाट तुलसीपुर उपमहानगर मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेले कामको जिम्मा लिएका थिए । तर, पाण्डेले पनि काम गर्न नसकेपछि उनी पछि हटे ।

अहिले सडकको अवस्था नाजुक रहेको छ । जसका कारण दुर्घटनाको जोखिम रहेको यातायात व्यवसायीहरूको भनाइ छ । २ वर्ष सम्म पनि चारलेन सडक निर्माण नहुँदा गाडीहरुसँगै यात्रुहरुले मार खेप्दै आएको यातायात व्यवसायी भीम बहादुर केसीले बताए ।

उनले सडकको अवस्था जीर्ण भएका कारण अहिले धेरै दुर्घटनाहरु भएको भन्दै तत्काल निर्माण कार्य अगाडी बढाउन समेत आग्रह गरे । उनले निर्माणको काममा सडक अस्तव्यस्त भएको भन्दै राज्यको कम्जोरीका कारण नागरिकले सास्ती भोग्दै आएको समेत बताए ।

त्यस्तै अर्का तुलसीपुर १८ विजौरीका यज्ञ बहादुर पुनले निर्माण कार्य सम्पन्न हुने बेलामा फेरि निर्माण कम्पनीले शुभारम्भ गर्नुले गैर जिम्मेवारी पन भएको समेत बताए । उनले यस्तो ढिला सुस्ती काम गर्ने निर्माण कम्पनीहरुलाई राज्यले कारबाही गर्नु पर्ने समेत बताए ।

उनले यो वा त्यो वहानामा निर्माण कम्पनीले समयमा काम नसक्दा दाङवासीले दुख पाउँनका साथै केहीले सडकका कारण ज्यान गुमाएको भन्दै यसको क्षतिपूर्ति दिनु पर्ने समेत माग गरे । निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट प्रालि मुम्बई भारतका अनुसार जिम्मा दिएका स्थानीय प्रतिनिधिले नेपाल आउनै नदिएको गुनासो छ ।

प्रालिका प्रबन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डेय नेपाली निर्माण व्यवसायले पुरा जिम्मेवारीका साथ काम गर्न दिएको भएयता पनि उनीहरुले आफूसँग गद्दारी गरेको बताए । उनले भने,‘ मलाई उनीहरुले दाङ आउन दिएका थिएनन् । म काठमाडौँमा एसपी र डिजी साबसँग भेटपछि दाङ आएको छु ।

मलाई यहाँ आउन धेरै रोकेका थिए । अब म एक वर्ष भित्र यो सडक निर्माण गरेर देखाउँछु । मलाई सबैले सहयोग गर्नु पर्छ र म्याद पनि थपिदिनु पर्छ । ’ त्यस्तै उनले अब कुनै पनि व्यवसायलाई पेटी ठेक्का नदिने र प्रालिले नै निर्माण गर्ने समेत बताए । उनले ३६५ दिन भित्र सडकको निर्माण गरीसक्ने गरी आफूले दिन रात काम गर्ने पार्ट – पार्ट गरी दैनिक एक हजार भन्दा बढि कामदारले काम गर्ने समेत बताए ।

उनले भने,‘ मलाई अहिले लाज लागेको छ । नेपाली पाटीले ७ प्रतिशत मात्र काम गरेका रहेछन् । मेरो साथ धेरै धोका भयो । मलाई दाङ कहाँ छ । त्यो पनि थाहाँ थिएन् । निर्माण ढिला हुँदा म सबैसँग क्षमा माग्छु । अब कम्पनीले ३६५ दिनमा काम गरेर देखाउँछ ।’

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट प्रालि केही दिन पहिलो सार्वजनिक रुपमा जानकारी गराउँदै काम शुरु गर्न थालेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । उनले कम्पनीले घोराही र दुधरासमा काम गर्न लागेको समेत बताए ।

त्यस्तै सडक निर्माणका लागि आवश्यक पर्ने ढुगांहरु राम्राबाट ल्याउन काम पनि अगाडी बढेको समेत उनको भनाइ छ । अहिले कामदारहरुको समस्याका कारण देखिने गरी काम नभएयता पनि अबको केही दिनका कामदारहरु आउने र देखिने गरी काम गर्ने भनेर निर्माण कम्पनीले आफूलाई जानकारी दिएको समेत उनले बताए ।

‘ कम्पनीसँग ६ महिना भित्रका काम गर्ने गरी सम्झौता भएको हो,’ उनले भने,‘ अब ६ महिनामा काम नसकिने भएकाले थप ६ महिना समय थप भइ एक वर्षमा सक्नेगरी नयाँ सम्झौता भएको छ । ’ त्यस्तै प्रजिअ रेग्मीले निर्माण कम्पनीलाई सहयोग गर्नु पर्ने बताए ।

उनले सडक निर्माणको क्रममा आवश्यक पर्ने सामाग्रीहरुको लागि कुनै पनि बहानामा समस्या आउन नदिन सबैले सहयोग गर्नु पर्ने समेत बताए । निर्माण कम्पनीले एक कार्यक्रम गरी यही मंसिर १० गते सडक निर्माण कार्यको शुभारम्भ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार