नेपाली कांग्रेस दाङको सभापतिमा डाँगी निर्वाचित

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर १२ गते आइतवार


दाङ : नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा संस्थापन इतरबाट शंकर डाँगी निर्वाचित भएका छन् । जिल्ला सभापतिको लागि संस्थापन पक्षबाट ३ जना र इतरबाट १ जना गरी ४ जना चुनावी मैदानमा उत्रिएका थिए । संस्थापन पक्षबाट दाङको क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने जानकीलाल बस्नेत, क्षेत्र नं. २ बाट कमल किशोर घिमिरे र भूप बहादुर डाँगीले सभापति पदमा लागि चुनावी मैदान उत्रिएका थिए ।
त्यस्तै इतरबाट दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने शंकर डाँगीले सभापतिको लागि चुनावी मैदानमा उत्रिएका थिए । डाँगी जिल्लाका वर्तमान सचिव पनि हुन् ।

जिल्ला नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा शंकर डाँगीले ७ सय ७६ र अर्का उम्मेदवार भूप बहादुर डाँगीले ५ सय ४५ मत प्राप्त गरेका थिए । त्यस्तै जानकीलाल बस्नेतले ४ सय ७१ र कमल किशोर घिमिरेले ३ सय १५ मत लिएका थिए । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत ल्याउन पर्ने भएयता पनि कसैको नआएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिएको भएपनि सहमति पश्चात् शंकरप्रसाद डाँगी जिल्ला सभापति भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
कुल मतदाता २ हजार १९२ जना रहेकोमा निर्वाचनमा २ हजार १३४ जनाले मात्र मतदान गरेका थिए, ५८ जना मतदानमा अनुपस्थित भएका थिए । सभापति पदका मुख्य प्रतिस्पर्धी भूपबहादुर र शंकर बीच भएको समहति पश्चात शंकर जिल्ला सभापति भएका हुन् । प्रतिस्पर्धी भुप बहादुरले उनलाई सभापतिमा समर्थन गरेपछि सभापति घोषणा गरिएको हो ।

विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी तेह्रौँ महाधिवेशनमा जिल्ला सचिव भएका थिए । नेविसङ्घको साविक बाघमारे गाविसको सचिव भएर संगठन बिस्तार गर्दै आएका डाँगीको सांगठनिक कुशलताका कारण पनि नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन् । २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका उनी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् ।

२०५९ सालमा नेविसङ्घको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उनी सफल भए । पार्टीको बाह्रौँ अधिवेशनमा जिल्ला सदस्य भएका उनी सोही कार्यकालमै सचिवमा मनोनित भएका हुन् ।
यसैगरी उपसभापतिमा भने गिरिराज सुवेदी ९१३ र कमानसिंह भारती ८६६ मत लिएर निर्वाचित भएका छन् ।

सुवेदी संस्थापन इतर र भारती संस्थापन पक्षका हुन् । सचिवमा अर्जुन कुमार योगी ११५७ र बालिका लम्साल १००५ मत लिएर निर्वाचित भएका छन् । योगी संस्थापन इतर र लम्साल संस्थापन पक्षका हुन् । त्यस्तै सहसचिवमा राजु आचार्य १०५२ र सुबोध कुमार डाँगी १०३४ विजयी भएका छन् । आचार्य संस्थापन इतर र डाँगी संस्थापन समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार