दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले बुधबार पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाभरी दीप प्रज्वलन र शुभकामना आदानप्रदान मार्फत पार्टी पुनर्गठन दिवस उत्सवको रुपमा मनाएको छ । मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म नेकपाले देशव्यापी पार्टी पुनर्गठन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि पार्टी पुनर्गठन दिवस मनाउँदै आएको हो ।
यस्तै नेकपा दाङले मंसिर ६ गते पार्टी पुनर्गठन दिवसको अवसरमा घोराहीमा मोटरसाइकल र्याली सम्पन्न गरेको थियो, भने मंसिर ७ गते नेकपाले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरि पार्टी पुनर्गठन दिवस मनाएको हो ।
यस्तै बुधबार नेकपा दाङले ८ औं पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाका मुख्य शहरहरू घोराही, तुलसीपुर, लमही, भालुबाङ, गढवा, राजपुर, शान्तिनगर, दंगिशरण ,बबई गाउँपालिकाको हापुरे चोकमा दिप प्रज्वलन, ठाउँ ठाउँमा झण्डा ब्यानर प्रदर्शन लगायत नेताकार्यकर्ताहरूले एक आपसमा अबिर आवरण गर्दै शुभकामना आदानप्रदान गरि पार्टीको पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाइएको नेकपाले जनाएको छ ।
पार्टीका नेता कार्यकर्ताहरूलाई अबिर लगाएर पार्टी पुनर्गठन दिवसको शुभकामना नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितल, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन लगायतका नेताहरूले शुभकामना व्यक्त गरेका थिए ।
यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीले तुलसीपुरको बिरेन्द्र चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा पार्टी पुनर्गठन दिवसको शुभकामना व्यक्त गर्दै नेकपा विशेष कमिटी सदस्य बिक्रमले दीप प्रज्वलनमा बलिरहेको बत्ती क्रान्तिको बत्ती भएको बताउँदै यसलाई कुनैपनि हालतमा निभ्न नदिने जिकिर गरे ।
उनले आफूहरूले नेपालमा चलिरहेको असफल संसदीय व्यवस्थालाई ध्वस्त पारेर जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि पार्टी पुनर्गठन गरेको समेत स्पष्ट पारे ।