दाङ : दाङमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराइच तहसिल नानापारका २८ वर्षीय नाइम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोमबार बेलुका ५ बजेतिर भारतीय नागरिक जस्तो देखिने ब्यक्तिले लमही ९ अमिलियामा लागू औषध ब्राउन सुगर ओसार पसार तथा बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले चेकजाँच गर्दा नाइमको साथबाट ४५ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेका नाइम माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था बमोजिम २५ ग्राम देखि १०० ग्राम सम्मको परिमाण भएमा १० वर्ष कैद र ७५ हजारदेखि २ लाख सम्म जरिवाना हुने प्रावधान रहेको छ ।