दाङमा बन्दकर्ताले जेब्रा क्रसिङमा लगाए रङ

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ३० गते मङ्गलवार

दाङ : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै  मंगलबार एक दिने नेपाल बन्द गरेका थियो । त्यसको प्रभाव बिहानदेखि जिल्लामा परेको थियो ।

जिल्लाका उद्योग कलकारखाना, शैक्षिक संस्था लगायत छोटो तथा लामा दूरीका सवारी साधनहरू ठप्प थिए । बजारका चोक चोकमा बन्दकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो, भने  सुरक्षाकर्मीहरूको  पनि बाक्लो उपस्थिति रहेको थियो । बन्द अवधिभर जिल्लामा कुनै  अप्रिय घटनासमेत नभएको प्रहरीले जनाएको छ ।

तर, तुलसीपुरमा बन्द कर्ताहरूले भने, बन्द गराउँदै जेब्रा क्रसिङमा रङ लगाएका छन् ।  बजारको विरेन्द्र चोक लगायत अन्य ठाउँहरूमा जेब्राक्रसिङमा रङ लगाएको पार्टीका तुलसीपुर उपमहानगरपालिका ५ का पार्टी वडा इन्चार्ज ईश्वरी पाण्डेले जानकारी दिए ।

उनले मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने सरकारका विरुद्ध चरण बन्द आन्दोलनका कार्यक्रमहरू गर्दै आएको बताउँदै रङ खुइलिएको जेब्रा क्रसिङमा रङ लगाएको बताए । यसैगरी पार्टीले तुलसीपुर ७  पर्सेनीमा पनि रङ लगाएको पार्टीले जनाएको छ ।  सडकमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी साधनको अति चाप हुने बजारका मुख्य भागमा नागरिकलाई बाटो वारपार गर्न सहजताका लागि मुख्य चोकमा जेब्रा क्रसिङ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार