हिरा डाँगी स्मृति कप फूटबल सुरु, युएनविसीको बिजयी सुरुवात 

Author Logo..
लक्ष्मण बस्नेत  २०७८ कार्तिक १० गते बुधवार

दाङ  :  तुलसीपुरमा सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल  प्रतियोगिता २०७८  बुधबारदेखि सुरु भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसीपुर ५ अरनिको खेल मैदानमा सञ्चालित प्रतियोगिताको नेपाली काँग्रेस तुलसीपुर नगर कमिटीका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि सुरेश हमालले उद्घाटन गरेका हुन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताए ।  उनले खेलकुद राष्ट्रको सान र गौरव भएको भन्दै यसको उच्च आदर्शलाई सबैले आत्मसाथ गर्न सके मानव सभ्यता जत्तिकै पुरानो  खेलकुद क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्ने बताए ।   साथै उनले हिरा डाँगी फाउन्डेसनले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासका लागि लिएको लक्ष्य र उद्देश्यमा आफ्नो पूर्ण सहयोग र सहकार्य रहने बताए ।  

त्यस्तै विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।  फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगी बमको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैबीच प्रतियोगिताको बुधबार सम्पन्न उद्घाटन खेलमा युएनविसी घोराहीले बिजयी सुरुवात गरेको छ । युनाइटेड युथ क्लब तुलसीपुरलाई  शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

उल्लेख दर्शकको उपस्थितिमा भएको खेलमा युएन बिसीका  एन्जस रोकाले  ह्याट्रिक गर्दै ५ गोल गरेका थिए ।  यस्तै प्रतियोगिता अन्तरगत बिहीवार दुई खेल हुनेछन । बिहान ७ बजे एसएसएफ तुलसीपुर र मेघा युथ क्लब घोराही भिड्ने छन् ,भने दोस्रो खेलमा सक्सेस फुटबल क्लब तुलसीपुर र शान्तिनगर फुटबल क्लब भिड्ने प्रतियोगिताका संयोजक केशव चौधरी मिङमाले जानकारी दिए । 


२०७६ साल चैत ३ गतेका दिन एक समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फूटबल  खेलको विकासमा थप टेवा  पु-याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समय ठप्प बनेको स्थानीय स्तरको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउँदै सञ्चालन गरिन लागिएको प्रतियोगितामा इन्डियाको सहारा क्लब, अन्य जिल्ला र स्थानीय गरि १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्ने छ ।  त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बे स्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यवस्था गरिएको छ । कार्तिक १६ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार