६० दिन भित्र महशुल नबुझाउने सेवाग्राहीहरूको लाइन काट्न शुरु

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ७ गते आइतवार


दाङ :  नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले समय मै विद्युत महशुल नबुझाउने सेवाग्राहीहरूको लाइन काट्न शुरु गरेको छ । लामो समयदेखि विद्युत महसुल नबुझाएका ७० घरको लाइन काटेको केन्द्रले जनाएको छ । यही कात्तिक १ गतेदेखि लाइन काट्न शुरु गरेको र अहिले सम्म ७० घरको लाइन काटिएको विद्युत प्रधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले बताए । उनका अनुसार ११ लाख २९ हजार बक्यौता रकम असुल उपर गर्न बाँकी रहेको छ ।

मिटर रिडिङ भएको ६० दिन भन्दा बढी समय सम्म पनि सेवाग्राहीले महशुल तिर्न नआएमा उनीहरूलाई कालो सूचीमा राखेर लाइन काट्न थालेको उनको भनाइ छ । प्रधिकरणले अझै विभिन्न व्यक्ति संघ, सरकारी कार्यालय, कम्पनी लगायतबाट ५ करोड ६७ लाख बक्यौता रकम असुल उपर गर्न बाँकी रहेको प्रमुख फर्सालले बताए । चालु आर्थिक वर्षको अन्त्य सम्म ३ करोड असुल गर्ने लक्ष्य रहेको उनको भनाइ छ । सोही उद्देश्य अनुरूप विद्युत महसुल नबुझाउने व्यक्ति, संस्था, सरकारी कार्यालय लगायतका सेवाग्राहीको विद्युत लाइन काट्न सुरु गरेको उनले बताए ।

चालु आर्थिक वर्ष २०७८/०७९ को हाल सम्म प्राधिकरणले २३ लाख ७९ हजार बक्यौता रकम बुझाउन बाँकी ८७ घरको लाइन काटेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय धमाधम लाइन काट्न सुरु गरेपछि धमाधम बक्यौता महशुल संकलन हुन थालेको उनले बताए । अटेरी गरेर भन्दा पनि सेवाग्राहीहरूले लापरवाही गर्दा महशुल बुझाउन नआउने गरेको उनको भनाइ छ । उनले भने,‘ बेलैमा विद्युतको खपत गरे बापतको रकम बुझाए जरिवानाबाट समेत बच्न सकिन्छ ।

तर, सेवाग्राहीको लापरबाहीले गर्दा यस्तो समस्या भएको हो ।’ आर्थिक वर्ष ०७७/०७८ मा प्रधिकरणले ६३ लाख ८८ हजार बक्यौता तिर्न बाँकी रहेका २ सय ८५ ग्राहकको लाइन काटेको थियो । विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ । काटिएको लाइन बक्यौता बुझाए पछि सेवाग्राहीको घरमा पुनः विद्युत जडान गरिने प्राधिकरणले जनाएको छ । तुलसीपुर वितरण केन्द्रका ४६ हजार ५७ ग्राहक संख्या रहेको छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार