फाइल तस्बिर
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन गर्न बनेको कार्यदलको संयोजकबाट राजीनामा दिने बताएका छन । उनले शुक्रबार ललितपुरको च्यासलस्थित बसेको एमालेको स्थायी कमिटीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राजीनामा दिने बताएका हुन् ।
उनले बैठकमा राजीनामाको घोषणा गरेको र लिखित राजीनामा शनिबार पेश गर्ने बताए । बैठकमा आफूले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको समेत उनले बताए । केन्द्रीय कमिटीमा १० प्रतिशत थप्नका लागि कार्यदलले गृहकार्य गर्ने निर्णय भएको थियो । तर, त्यसमा कुनै छलफल नगरी दुई जना केन्द्रीय कमिटीका सदस्य प्रभु साहसँग कुराकानी भएको हुनाले राख्नुपर्छ भन्ने कुरा आयो ।
त्यो कुनै विधि पद्धति निर्णयसम्मत भएन भनेर त्यसप्रति पनि असहमति छु, उनले भने। पार्टी अध्यक्ष केपी शर्मा ओलीबाटै १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेको भन्दै उनले असहमति जनाएका हुन्। बुधबार एमाले अध्यक्ष ओलीले १० बुँदेको एक तारे नबजाउन चेतावनी दिएका थिए। उनले १० बुँदे सहमति माधव नेपालका लागि मात्रै गरिएको तर, उनी पार्टीबाट बाहिरिएकाले यसको सन्दर्भ समेत सकिएको बताएका थिए ।