सुपथ मूल्य पसल : घोराहीमा नून, तुलसीपुरमा चामल

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १९ गते मङ्गलवार

दाङ : सरकारले नागरिकलाई चाडपर्वको समयमा सस्तो तथा सुलभरुपमा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष सुपथ मूल्यको पसल सञ्चालन गर्दै आएको छ । तर यो सरकारी अभियानले उपभोक्ताहरुलाई राहतभन्दा पनि लज्जास्पद बनाएको छ । घोराहीमा नून र चिनी सुपथ मूल्यमा बिक्री गर्ने भनिएको पसलमा नूनमात्रै रहेको छ भने तुलसीपुरमा सरकारले सन्चालन गरेको सुपथ मुल्य पशलमा चामल मात्रै छ । सरकारले सञ्चालन गर्ने सहुलियत पसलमा सरकारले भनेका सामग्रीहरु किन्न पाइँदैन ।

दाङ पनि सरकारीस्तरबाट चाडपर्व लक्षित गरेर सञ्चालनमा ल्याइएको सहुलियत (सुपथ मूल्य) पसल नाम मात्रको रहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । सरकारको स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले घोराहीमा सञ्चालनमा ल्याएको पसलमा उपभोक्ताले नूनमात्र पाउने भएपछि नाम मात्रको भएको नागरिकको भनाइ रहेको छ । संघीय सरकारको निर्णयअनुसार दाङमा पनि असोज १ गतेदेखि साल्ट ट्रेडिङ कर्पोरेशन दाङ घोराही शाखाले सहुलियत पसल सञ्चालनमा ल्याएको थियो तर यसरी सञ्चालनमा ल्याएको पसलमा नूनमात्र बिक्री गर्ने गरिएको छ । एकजना व्यक्तिलाई ६ केजी नून दिइने गरेको छ । नून नागरिकले पटक–पटक आएर लैजाने गरेको उनको भनाइ रहेको छ । नागरिकले नून प्रतिकेजी १८ रुपैयाँमा पाउने गरेका छन् ।

उता तुलसीपुरमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा चामल मात्र राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सञ्चालन गरेको सहुलियत पसलमा चामलमात्र रहेको छ । सुपथ पसलबाट चामल बिक्री गर्ने गरिएको व्यापार कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । उनका अनुसार असोज १ गतेबाट सञ्चालन गरे पनि हालसम्म ५० क्वीन्टल पनि चामल बिक्री हुन सकेको छैन । तुलसीपुर क्षेत्रमा चामल किनेर खानेहरु कम भएका कारण चामल कम बिक्री भएको उनको भनाइ छ ।

गोरक्ष राष्ट्रिय दैनिकबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार